इटालीद्वारा देशभर आपतकालको घोषणा
फागुन २७, एजेन्सी । चीनपछि कोरोनाबाट बढी प्रभावित हुने देश इटलीले कोरोना नियन्त्रणका लागि मुलुकभर आपतकालको घोषणा गरेको छ ।
भाइरसको संक्रमण बढेसँगै यसअघि केही क्षेत्रमा लागू गरिएको आपतकालीन अवस्थालाई मुलुकभर विस्तार गरिएको हो । अहिले घोषणा गरिएअनुसारको आपतकालीन अवस्थामा भ्रमण, तथा सार्वजनिक भेलामा समेत मुलुकभर प्रतिबन्ध लगाइएको छ ।
सोमबार प्रधानमन्त्री ग्युसेपे कोन्टेले मानिसहरुलाई घरमै बस्न र अनुमति लिएर मात्र कुनै महत्वपूर्ण यात्रामा जान आग्रह गरेका छन् ।
सोमबार मात्र इटलीमा कोरोना भाइरसबाट ९७ जनाको ज्यान गएको थियो भने, आइतबारयता नयाँ संक्रमितको संख्या पनि २४ प्रतिशतले बढेको छ ।
चीनपछि इटाली कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश बनेको छ ।
इटलीको सबै २० प्रान्तमा यो भाइरसको संक्रमण देखिएको छ । सरकारले राति अबेरसम्म नबस्न र रातको समयमा पार्टी नगर्न निर्देशन दिएको छ ।
मुलुकभर सबै फुटबल खेलमा रोक लगाइएको छ । विद्यालय र विश्वविद्यालययहरु अप्रिल ३ सम्मका लागि बन्द गरिएको छ । कुनै महत्वपूर्ण काम तथा परिवारिक कामबाहेक भ्रमणमा प्रतिबन्ध लगाइएको छ ।