अब एन आई सी एशिया बैंकका ग्राहकलाई अकामा होटलमा २० प्रतिशत छुट
चैत्र २, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूले धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट पाउने भएका छन् । आज बैंक र होटलबीच उक्त छुट दिनका लागि समझदारी भएको छ ।
एक कार्यक्रमका बीच बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठले समझदारीपत्र आदानप्रदान गरेका छन् ।
उक्त समझदारी बमोजिम बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरेवापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन् । साथै बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ ।
समझदारीका सर्तहरू एक वर्षको लागि लागू हुनेछन् ।
यसैगरी ग्राहकहरूले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।