नेपाल प्रहरीदेखि व्याडमिन्टन खेलाडीसम्म

फागुन २०, विरटनगर । देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । तत्कालिन माओवादी र सुरक्षाकर्मीबीचको भिडन्त, हत्या समाचारका हेडलाईन नै थिए । तर घरको आर्थिक चुनौति सामना गर्दै गरेका विष्णु कटुवाललाई नेपाल प्रहरीमा भर्ती हुनु थियो ।   

उनले संखुवासभाको खाँदबारीबाट जागिरे यात्रा आरम्भ गरेका थिए, आर्थात् उनको जिल्ला प्रहरी कार्यालय संखुवासभा दरबन्दी कायम भएको थियो ।   

फत्तेपुरमा जन्मेका विष्णुले आजसम्म आफ्नी आमा कस्ति थिइन् भनेर ठम्याउन सकेका छैनन्  । उनले सानै उमेरमा आमा गुमाएका थिए । आमाको निधनसँगै उनले आफ्ना कयौं स्वर्णीम सपनाहरुको तिलान्जली दिएको सुनाउँछन् । ‘आमा बितेसँगै परिवारमा धेरै समस्या आयो, पढ्न पाईन समाजले नराम्रो दृष्टीले हेर्दा मन रुन्थ्यो ।’ उनले भने । यिनै बाध्यताले नेपाल प्रहरीमा भर्ती भएको बताउने विष्णुलाई खेलाडी बन्ने अबसर पनि नेपाल प्रहरीबाट नै जुरेको हो ।   

०६३ सालको प्रहरी दिवस मनाउने क्रम चलिरहँदा, त्यो समयसम्म उनले खेल क्षेत्रमा आफ्नो करियर बनाउछु भन्ने कल्पना पनि गरेका थिएनन् । उनी धेरै जस्तो कार्यालयमा भएको खेल मैदान सफा गर्न रुची राख्थे । सनिवारको दिन मैदानमा साथी एक्लै व्याटमिन्टन खेलिरहेको बेला उनले आफुलाई पखि खेल्ने इच्छा भएको सुनाए । साथीले उनलाई एक अंक ल्याएर देखाउ न त ! भनेका थिए, त्यो समय उनलाई साथीले भनेको त्यो शब्दले जिस्क्याए जस्तो लाग्यो ।  उनले अण्डा बाजी राखेर व्याटमिन्टन खेल्न सुरु गरे   

उनले भने ‘दुई हप्तासम्म खेल्दा पनि मैले एक अंक ल्याउन सकिन । तर मैले हिम्त हारिन र निरन्तर प्रयास गरिरहेँ । निरन्तरको प्रयासपनि मैले अर्काे हप्ता एक अ.क ल्याएँ ।’ त्यहि एक अंकको पहिलो सफलतासँगै दुई अंकका लागि पुनः अण्डा बाजी सुरुभयो । अण्डा बाजीले नै आफुलाई व्याडमिन्टन खेलमा अझ थप हौसला मिलेको उनी सुनाउँछन् ।   

त्यही बेला संखुवासभामा जिल्लास्तरीय खेलकुद प्रतियोगिता हुँदै थियो । अण्डाबाजी खेले कै भरमा उनले सहभागीता जनाए तर पहिलो चरणमा नै उनि खेलबाट बाहिरिए । यही असफलता नै विष्णुको जीवनको सफलताको शुत्र बन्यो । उनले  हार मानेनन् खेलमा निरन्तर अभ्यास गरीरहे, उनले गरेको अथक प्रयास र निरन्तर अभ्यासले ०६४ मा जिल्ला प्रथम भएसँगै उनको खेल यात्रा आरम्भ भएको हो ।   

जिल्ला स्तरिय खेल सम्पन्न भए लगत्तै चितवनमा व्याडमिन्टन प्रतियोगता आयोजना हुने भन्ने सुनेपछि उनलाई पनि सहभागिता जनाउने इच्छा जग्यो । त्यहि अनुसार उनलाई कार्यालयबाट विदा पनि मिल्यो तर खेलमा सहभागिता जनाउनका लागि उनी सँग पैसा थिएन । उनको खेल प्रति टुसाउँदै गरेको कलिलो हौसलाका मुना निमोठिन लागेको थियो । तर जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै विष्णुले घाँटीमा लगाएको सुनको सिक्रि ‘धितो’ राखेर चितव पुगे । तर जितको सपना बोकेर चितवन पुगेका विष्णुले खेलको दोश्रो चरणबाट नै बाहिरिनु पर्यो । उनले बेहोरेको हारसँगै उनको खेल जीवले नयाँ मोड लियो ।   

विष्णुको  खेलप्रतिको लगावको उच्च मुल्याङकन गर्दै तत्कालिन डिएसपी हाल एआईजी विश्वराज पोखरेलले काठमाण्डौं प्रहरी क्लबमा पठाउन प्रयास गरे । तत्कालिन आइजिपी ओमबिक्रम राणाका पिएसओ तत्कालीन इन्स्पेक्टर हाल एसपी दिपक खरेल र तत्कालीन इन्सपेक्टर कृष्णसुन्दर विष्टको पहलमा प्रहरी क्लब भृकुटीमण्डप पुगे, जुन उत्साह लिएर काठमाण्डौ पुगेका थिए विष्णु उनका उत्साह विलिन भएको तितो विगत सुनाए । उनले भने ‘एक वर्षसम्म त हाकिमहरु खेल्थे, म अंक गनेर बस्थे, एक वर्ष‘सम्म त व्याड पनि समाउन पाईन ।’ 

उनलाई तिनै कृष्णसुन्दर विष्टले कोच किरण थापालाई विष्णुको सिफारिस गरिदिएसँगै उनले तालिम लिएको सुनाउँछन् । उनले कैलालीमा छैंटौ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनौटमा परेसँगै पुरुष डब्लस्मा कास्यपदक जितेका थिए । पहिलो पटक कास्य पदक प्राप्त गर्दा संसार जितेको आभास भएको थियो विष्णुलाई ।   

सन् २०१४ मा भएको एसियाली खेलकुदमा नेपाल प्रहरी र समग्र नेपालको प्रतिनिधित्व गर्दै विष्णु कोरीया पुगेका थिए । उनले कोरीयामा बिजय हासिल गर्न नसके पनि अनुभव लिएर नेपाल फर्किए । ,   

२ हप्ता अगाडि काडमाण्डौंमा भेटिएका विष्णुलाई तपाईको भुल्न नसक्ने क्षण के हो ? भन्ने प्रश्नमा उनले भने ‘पाँचथरको फिदिममा भएको प्रथम फाल्गुनानन्द राष्ट्रिय व्याडमिन्टन लिग च्याम्पिनसिपमा नम्बर एक खेलाडी विकाश श्रेष्ठलाई जितेर पुरुष सिङ्गलको उपाधि हासिल गर्दै, नेपाल च्याम्पियनसम्मको उपाधि प्राप्त गरे यही हो ।’ 

अण्डा बाजी खेल्दै, व्याडमिन्टन खेल्न सुरु गरेका विष्णुलाई आजभोली सबैथोक व्याडमिन्टन लाग्न थालेको छ । देश प्रतिको सेवा अर्थात उनी आफ्नो पेसा प्रतिको जिम्मेवारी, परिवारप्रतिको उत्रदायित्व निभाउँदै  खेल प्रति पनि त्यतिकै लगनशिल छन् । त्यसो त, हालै सम्पन्न १३ औं सागमा जितेको कास्य पदक उनका लागि जीवनको सबै भन्दा महत्वपूर्ण कुरा रहेको उनी बताउँछन् । उनले भने ‘कास्य पदक जितेसँगै उनलाई फत्तेपुरवासीले दिएको सम्मान ऐतिहासिक लाग्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *