श्रीमान ठग्ने श्रीमती र श्रीमती ठग्ने श्रीमानहरूका नाममा !
भनिन्छ महिला र पुरुष एक रथका दुई पाँग्रा हुन । त्यसलाई अझ गढिलो ढङ्गले हेर्ने हो भने र गहिराइ बुझ्ने हो भने श्रीमान् र श्रीमती एक अर्काका परिपूरक हुन भन्ने बुझ्नु वाञ्छनीय छ । रथका दुई पाँग्रा मध्ये एक पाँग्रा निकालेर हेरौँ, त्यो रथ रथ हुनै सक्दैन, भयो भने पनि गुड्नै सक्दैन । बुढा पाकाले त्यसै भनेका थिएनन् महिला र पुरुष एक रथका दुई पाँग्रा हुन र यो उक्ति त्यसै सबैका मुख मुखमा भएको थिएन ।
मेरो आफ्नै घरको कुरा बाट विषय प्रवेश गर्छु ।
बा, आमाका हामी चार जना छोरा र तीन छोरी गरी सात जना । १४ बर्षकै उमेरमा उमेर ढाँटी भारतको आसाम राइफल भर्ती भएका मेरा बा ले ४० वर्ष सम्म (अर्थात् आफ्नो ५४ वर्षको उमेर सम्म) खुन र पसिना सिँचेर हाम्रो परिवारको पालन पोषण, शिक्षा दीक्षा सब कुरा गर्नुभयो । मेरी कालो क नपढेकी आमाले मेरा बा ले परदेश अर्थात् आसाममा गएर नोकरी गरी कमाएको, पठाएको ल्याएको खुन र पसिनाको एक एक पाइ पैसो टुङ्गो नलगाइदिएको भए हामी सात भाइ बहिनीको हालत के हुन्थ्यो होला !
बा ले कमाउने, बा ले कमाएको कमाइ बाट आमाले घरधन्दा देखी हाम्रो परिवारको पालन पोषण, शिक्षा दीक्षा सब कुरा हेर्नुभयो र हामी अहिले यत्तिको भएका हौँ । मान्नुस् यदि मेरा बा परदेश तिरै बेथितिका भइदिएका भए वा मेरी आमाले बा लाई साथ नदिएका भए, बा नभएका बेला पनि घर धन्दा देखी हामी सबै परिवारको बोझ जिम्मेवारी पूर्वक निर्वाह नगरेकी भए हामी सात जनाको हाल बेहाल हुन्थ्यो, त्यो सत्य हो ।
मेरो घरको यो कहानी शायद तपाईँको घरको पनि कहानी होला । फरक यत्ति हुन सक्छ कि कोही धन कमाउन परदेश गए, लाहुरे भए, कोही घरमै कुटो कोदालो, कृषि कर्म वा सानो ठुलो केही कर्म गरेर परिवार चलाए, चले । पहिला पहिला यसै गरेर घर परिवार चल्थे, चले र हामी यहाँ सम्म आयौँ ।
अब अहिलेको कुरा गरौँ ।
जमाना फेरिएको छ । पहिला जस्तो कालो क पढ्न नपाएकी मेरी आमाको जस्तो अवस्था अहिले कुनै आमाको छैन । थोरै धेरै पढ्न बुझ्न पाएको अवस्था छ । नभए प्रौढ शिक्षाका नाममा पनि केही उज्यालो छर्ने काम भएको छ । आज बा ले मात्र काम गरेर परिवार चल्नु पर्ने अवस्था छैन यद्यपि आज पनि बा र आमाहरूको जिम्मेवारी पहिला जस्तै भने अवश्य छ ।
नेपालमा रोजगारीको अभावले पापी पेट पाल्न भन्दै साउदी अरब र अन्य मुलुकहरूमा रोजगारीका लागि गएका श्रीमानहरू घर फर्किँदा श्रीमतीहरू अर्कै सँग टाप कंसेका, छोरा छोरीको बिचल्ली भएका, सर्वस्व लुटिएका समाचार पक्कै पढ्नुहुन्छ होला । यी बाहेक पनि विदेशमा अहिले थुप्रै अप्रिय समाचार हुने गरेका छन् ।
आफ्नै श्रीमतीले श्रीमानलाई ठगी गरेका, श्रीमानले श्रीमतीलाई ठगी गरेका मात्र होइन डिभोर्सका महामारी पनि दिन प्रतिदिन बढ्दै र परिवारहरू बर्बाद हुँदै गरेका कैयौँ घटना हामीले देखिरहेका छौँ, सुनिरहेका छौँ । श्रीमतीको दाँजोमा श्रीमानहरू बढी पीडित भएका घटना देखिन्छन्, सुनिन्छन् आजकाल यता ।
नेपालमा त ल चाहेर पनि गर्न रोजगारीका अवसर सीमित छन् तर विदेशमा आएर पनि, रोजगारीका पर्याप्त अवसर हुँदा हुँदै पनि श्रीमान् ठग्ने श्रीमती र श्रीमती ठग्ने श्रीमानहरू देख्दा अचम्म लाग्छ ।
श्रीमती मरी मरी काम गर्छे, रात दिन भन्दिन तर श्रीमान् थपक्क घरमा बस्छ, वा बाहिर बाहिर डुल्छ, काम गर्न मन गर्दैन, हिन्दी सिरियल र फिल्म हेर्दै फेसबुक, युट्युबमा मात्र दौडिरहन्छ, श्रीमती, छोराछोरीलाई माया गर्दैन, मिठो मिठो खानुपर्छ, राम्रो राम्रो लाउनु पर्छ भने सम्झिनुस् त्यो श्रीमान् श्रीमतीको मात्र होइन परिवार र आफ्नै पनि शत्रु हो । नामर्द हो । पानी मरुवा हो ।
त्यसै गरी, श्रीमान् इमान्दार छ, रात दिन नभनेर मरी मरी काम गर्छ, श्रीमती छोरा छोरी परिवार भन्छ, उनीहरूकै लागि रगत र पसिना बगाएर काम गर्छ त्यस्तो श्रीमानलाई चिट गर्ने, हिन्दी सिरियल र फिल्म छोड्नै नहुने, बजार गए देखेजतिको सबै उसैलाई चाहिने, छोरा छोरीको मतलब नहुने, आफ्ना माइती भए बाँकी संसारको मतलब नगर्ने, न भूत, न भविष्य, न कुनै चिन्ता न कुनै इच्छा राख्ने हुस्सु, बेकम्मा श्रीमती पनि श्रीमानको मात्र होइन, छोरा छोरी, परिवार र आफ्नै पनि शत्रु हो । पृथ्वीको भार हो । यस्ता पृथ्वीका भारहरू कसैका पनि आफ्ना हुँदैनन् र आफैका लागि पनि आफ्ना हुँदैनन् ।
अझ आश्चर्यको कुरा, यस्ता राक्षसी प्रवृत्तिका श्रीमतीहरू श्रीमानको कमाई बाट खाने, लाउने, मोज गर्ने र आफूले अलि अलि काम गरेर दुई चार पैसा आएको छ भने बैङ्कमा अलग्गै खाता खोल्नु पर्ने, मेरो पैसा चलाइदिने होइन नि भन्दै श्रीमान् धम्काउनु पर्ने, श्रीमानलाई नै लुट्नु पर्ने जस्तो गर्छन् । श्रीमान् भने गाडीका किस्ता, घरको मोर्गेज, बिलहरू, इन्योरेन्स, खानपान सबै कुराको जोहो गर्न जुट्नु पर्ने यस्तो विडम्बना पनि देख्न पाइन्छ यहाँ पनि ।
यो कुरा कहीँ कहीँ श्रीमतीको हकमा पनि देख्न पाइन्छ । हामीले यहाँ श्रीमान् वा श्रीमती एकलाई दोषी देखाएर अर्को लाई सुनपानी छर्किन खोजेका होइनौँ मात्र प्रवृत्तिको कुरा गरेका हौँ गलत अर्थ नलागोस् ।
यी दुवै प्रवृत्ति बाहेक तेस्रो यस्तो प्रवृत्ति पनि देखिन्छ यहाँ, जहाँ श्रीमान्, श्रीमती, छोरा छोरी हर कुरा सल्लाह गरेर मात्र गर्छन्, मिलेर काम गर्छन्, दुःख सुख बाँड्छन्, एक अर्काका पिर मर्का बुझ्छन्, परिवार आफन्तजन हेर्छन् । श्रीमान् श्रीमतीको बैकमा ज्वाइन्ट एकाउन्ट राख्छन् । कमाई पनि पारदर्शी, खर्च पनि पारदर्शी, हर कुरा पारदर्शी । तेरो मेरो होइन हाम्रो भन्ने संस्कार छ । धर्म, संस्कार, नैतिकता, आचरण छ । पारिवारिक अनुशासन छ । यस्तो पनि छ जुन हुनुपर्ने हो ।
उमेर छउन्जेल काम गर्न मन नगर्ने, सुती सुती खान खोज्ने, बजार गए देखे जतिको सबै चाहिने, उठाउने, मेसेन्जर र स्काइपमा घन्टौँ भिडियो कल गरेर …… अनि के छ त ? भन्दै कुरा लम्बाइरहन मन पर्ने, हिन्दी फिल्म, सिरियल, फेसबुक र युट्युब भए पुग्ने यस्ता हुस्सुहरू चाहे ती श्रीमान् हुन वा श्रीमती दुवैले आफ्नै भविष्य बर्बाद पारीरहेका हुन्छन् ।
बाबु आमाको कमाई वा सम्पत्तिले केही हुन्न, आफ्ना लागि आफैले केही गर्नुपर्छ भन्ने कुरा दिमागमा नछिरेकाहरू बाउ आमाको शेष पछि कुकुरले नपाएको आपत् पाउँछन् । जिन्दगी जिउने र जिउनका लागि कर्म गर्ने आफैले हो । न त हेर्ने बाउ आमा सधैँ साथ हुन्छन् न त दाजु भाइ दिदी बहिनी सधैँ सँगै रहन्छन् ।
उमेर छँदै र सक्दा कर्म नगर्ने ठगहरू जब उमेर ढल्किन्छ अनि बल्ल होसमा आउँछन् । होसमा आउँदा न त आफू सँग बाबु आमा साथ हुन्छन्, न दाजु भाइ दिदी बहिनी, न त आफन्तजन । काम नगर्ने काम चोरहरूको सम्पत्ति वा बचत हुने कुरा भएन अनि होस बल्ल खुल्छ । यती बेला सम्म आइपुग्दा आफूलाई मात्र होइन त्यसले छोरा छोरी परिवारलाई समेत असर पारिसकेको हुन्छ, पारिरहन्छ ।
बाउ आमाले कमाइदिएको धन र जोडी दिएको सम्पत्ति, ससुरालीले दिएको दाइजोले केही हुन्न, गर्न आफै पर्छ । त्यस माथि अहिले अब पुरानो पैतृक सम्पत्ति वा दाइजोका कुरा गर्ने जमाना पनि छैन । आफ्ना लागि आफैले गर्ने हो, आफै भर पर्ने हो । जसले गर्छ उ पछि पनि रमाउँछ, काम चोर जो छ उसले पछि बुढेसकालमा थुक्क मेरो बुद्धि ……भन्दै टाउको समाउँछ । यो वास्तविकता हो ।
त्यसैले उमेर छउन्जेल, सकुन्जेल, अवसर पाएका बेला काम गरौँ, अल्छी नगरौँ । श्रीमानले श्रीमती ठग्ने, श्रीमतीले श्रीमान् ठग्ने काम गर्दै नगरौँ, बाउ आमा, दाइ भाइ, दिदी बहिनीको होइन आफ्नै भर परौँ । भाग्य छ भनेर आकाशबाट केही बर्सिने वाला छैन । आफै नगरी केही पनि हुन्न, आफू कर्मशील बन्ने मान्छे कहिल्यै पनि रुन्न । सम्बन्धित सबैलाई चेतना भया ।
-भर्जिनिया, अमेरिका, मार्च ०६, २०२०