बेलायती प्रधानमन्त्रीमा पनि पोजिटिभ देखियो कोरोना
चैत्र १४, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफू संक्रमित भएको जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा आफूमा भाइरसको मध्यम लक्षणहरु देखिएको उनको भनाइ छ । हाल आफू आइसोलेसनमा रहेको उल्लेख गर्दै भिडियो कन्फरेन्सबाट सरकारी काम गर्ने उनले बताए ।
उनले ट्वीटरमा सार्वजनिक भिडियोमा भनेका छन्– ‘शरीरको तापक्रम बढेको र खोकी लागेपछि मैले कोरोना भाइरसको परीक्षण गरेको थिएँ। त्यसमा भाइरस पोजिटिभ आयो। म घरबाटै काम गरिरहेको छु। म प्रविधिको प्रयोग गरेर सरकारको काम गरिरहनेछु।’
यसअघि बेलायती राजकुमार चार्ल्समा समेत भाइरसको संक्रमण देखिएको थियो। यस्तै बेलायतकी स्वास्थ्य मन्त्री नाडिन डोरिसमा समेत कोरोना भाइरसको संक्रमण देखिएको थियो। भाइरसको संक्रमण बढ्दै गएसँगै हाल बेलायतमा लकडाउन छ । बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ५७८ व्यक्तिको मृत्यु भएको छ । ११ हजार ६५८ सङ्क्रमित भएका छन् ।
विश्वभर संक्रमणबाट ज्यान गुमाउनको संख्या २४ हजार नाघेको छ भने ५ लाख ३२ हजार ६७० जना संक्रमित भएका छन् । उपचारपछि १ लाख २८ हजार ६३७ स्वस्थ बनेका छन् ।