कोभिड-१९ : एक हप्ताभित्रै सबै प्रदेशमा नमुना परिक्षण हुने

चैत १८, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को नुमना परीक्षण अब सातवटै प्रदेशमा सुरु गरिने भएको छ । सरकारले अबको एक हप्ताभित्र सबै प्रदेशबाट कोभिड-१९ को परीक्षण सुरु गरिने जनाएको हो ।   

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार चीनबाट शनिवार ल्याइएका सामग्रीमा प्रयोगशालाको सामग्री पनि रहेको र ती सबै प्रदेशमा जडान गरेर परीक्षण सुरु गरिने भएको हो । प्रयोगशालाका सामानसँगै स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा सामग्री, सर्जिकल मास्कजस्ता सामान आज सबै प्रदेशमा  पठाइने प्रवक्ता देवकोटाले जानकारी दिए ।   

देशमा कोरोनाभाइरसको पहिलो संक्रमित देखिएपछि राजधानी काठमाडौंमा सुरु गरिएको कोरोना संक्रमणको परीक्षणलाई चार दिनअघि मात्रै धरानमा विस्तार गरिएको छ । अहिले अस्पतालहरूले बिरामीको नमुना सङ्कलन गरेर काठमामाडौं पठाउने गरेकोमा अब उक्त सेवा एक साताभित्र सबै प्रदेशबाट सुरु गरिने मन्त्रालयका प्रवक्ता देवकोटाले बताए । 

‘हामी अब एक हप्ताभित्र सबै ठाउँमा सुरु गर्छौँ किनभने परीक्षणका लागि आवश्यक रिएजेन्ट तथा अन्य सामग्री आइसकेका छन् । हरेक प्रदेशमा कम्तीमा एउटा पीसीआर हामी जोड्छौँ,’ उनले भने । परीक्षण प्रयोगशालाहरू प्रदेश नम्बर २ को जनकपुरमा, प्रदेश नम्बर ५ को बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा अनि सुदूरपश्चिम प्रदेशको धनगढीमा हुनेछन् । 

त्यस्तै पोखरा, नेपालगन्ज, दाङ र हेटौँडामा पनि थप प्रयोगशाला स्थापना गरिने बताइएको छ । नेपालले चीनको एक कम्पनीबाट किनेको एक करोड तीन लाख अमेरिकी डलर बराबरको सामग्रीमध्ये केही समान मात्रै आएको र बाँकी सामान यो साताभित्र ल्याइने छ । 

हाल आइपुगेका सामग्रीमा नेपाल सरकारले किनेका सामानका अतिरिक्त चीनको सिचुवान प्रान्त सरकार, सिचुवान इन्भेस्टमेन्ट ग्रूप, चीनको प्रख्यात प्रविधि कम्पनी अलिबाबा फाउन्डेशन र ज्याक मा फाउन्डेशनले नेपाललाई सहयोगका रूपमा पठाएका सामान हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *