कोरोनाको आशंकामा सांसदसहित चार जना अस्पताल भर्ना

चैत्र ९, धनगढी । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा सुदूरपश्चिम प्रदेशकी एक जना महिला सांसदसहित चार जना अस्पताल भर्ना भएका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले सुदूरपश्चिम प्रदेशकी महिला सांसदसहित चार जना आइसोलेनमा भर्ना भएको पुष्टि गरेका हुन् ।   

उनले सांसदसहित तीन जनालाई बिहीबार र एक जनालाई आइतबार नै अस्पताल भर्ना गरिएको जानकारी दिएका हुन् । उनले अस्पताल भर्ना भएकाहरुको भने नाम खुलाएनन् । ‘सांसदज्यूले पनि नाम नखुलाइदिनुहोला भन्नुभएकाले नाम कसैको नभनौं,’ उनले भने, ‘नमुना संकलन गरेर काठमाडौं पठाइएको रिपोर्ट पनि भोलिसम्ममा आउँछ ।’ 

डा. जोशीकाअनुसार बिहीबार भर्ना भएका दुई जना कैलालीका हुन् भने आज भर्ना भएका एक जना भने अछामका हुन् । उनको पनि नमुना संकलन गरि काठमाडौं पठाइँदैछ । सांसदबाहेकका तीन जना भारतबाट आएका व्यक्ति हुन् । उनीहरुलाई त्रिनगर भन्सार नाकामा चेकजाँचका क्रममा कोरोनाको आशंका लागेपछि अस्पताल भर्ना गरिएको डा. जोशीले जानकारी दिए । नाकामा चेकजाँचको क्रममा कोरोनाको आशंका लागेपछि केहीछिन निगरानीमा राख्न त्रिनगर नाकामै आइसोलेन कक्ष पनि स्थापना गरिएको छ । त्यहाँबाट नै कोरोनाको आशंका लागेका व्यक्तिलाई अस्पतालको आइसोलेनमा राख्ने गरिएको छ । निगरानी कक्षमा एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ ।   

सेती प्रादेशिक अस्पतालमा यसअघि पनि चार जना कोरोनाको आशंकामा भनाई भएका थिए । तर, उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोनाको आशंकामा शनिबार मात्रै कञ्चनपुरको महाकाली अस्पतालमा पनि दुई जनालाई भर्ना गरिएको छ । उनीहरु पनि भारतबाट नेपाल आइरहेका बेला गड्डाचौकी नाकामा चेकजाँचका क्रममा भेटिएका हुन् । उनीहरुको नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको अस्पतालले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *