चोरी भएको ११ दिनसम्म पनि पत्ता लागेन अपराधी, अनुसन्धानमा आशंका
फागुन २९, काठमाडौं । नवलपरासको सुनचाँदी पसलमा चोरी भएको ११ दिनसम्म पनि अपराधि पत्ता लाग्न नसकेपछि त्यहाँको सुरक्षा व्यवस्थामा संका उत्पन्न भएको छ । गैंडाकोट नगरपालिका ४ काँग्रेस चोक स्थित मोनिका सुनचाँदी पसलमा यहीँ फागुन १८ गते राती चोरी भएको थियो ।
अपराधी पत्ता लाग्न नसक्दा महासंघले सुरक्षा व्यवस्था प्रति आपत्ति जनाएको छ ।
‘पूर्व–पश्चिम राजमार्गसंग जोडिएकोले चौविसै घण्टा यातायात संचालन भई रहने स्थानीय व्यस्त बजारको प्रमुख चोकमा रहको पसलमा त्यति ठूलो आपराधिक घटना हुँदा समेत सुरक्षा संयन्त्रले थाहा नपाउनु र घटना भएको ११ औं दिन सम्म पनि अपराधी पत्ता लाग्न नसक्नुले थप अन्योल र आशंका उत्पन्न भएको छ । साथै यसबाट सुरक्षा संयन्त्र एवं अनुसन्धान निकायको प्रभावकारिता माथि नै चुनौति खडा भएको महशुस गरिएको छ’ महासंघको विज्ञप्तिमा भनिएको छ ।
null
सुनचाँदी व्यवसायी उमेश गहतराजका अनुसार पसलको सटर फुटाली करीव ८१६ ग्राम सुन, रु.७ लाख नगद र १ के.जी चाँदी राखिएको सेफ नै उठाएर लगेको छ । बहुमूल्य गहना र नगद सहित राखिएको उक्त सेफ घटना भएको ९ दिन पछि रित्तो र क्षत–विक्षत अवस्थामा घटना स्थलबाट करीव २ कि.मीको दूरीमा नारायण नदीको बगरमा स्थानीयहरुले भेटेको र प्रहरीलाई खवर गर्दा प्रहरी आई उठाई लगेको पनि पीडितबाट जानकारी प्राप्त भएको छ ।
महासंघले चोरी, लुटपाट आदि घटनाहरु निरन्तर रुपमा भइरहनु र सुरक्षा संयन्त्रमा देखिएको यस प्रकारको फितलो एवं प्रभावकारिताविहिन उपस्थितिले समग्र गहना व्यवसायीहरु त्रसित हुनुपर्ने वाध्यात्मक अवस्था उत्पन्न भएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
महासंघले अनुसन्धान कार्यलाई प्रभावकारी रुपमा थप तीव्रता दिई घटनाको अपराधी पत्ता लगाई कानूनको दायरामा ल्याइ कानुनी कारबाही गर्न माग गरेको छ ।