लघुवित्त संघ नेपाल गठन, अध्यक्षमा जगत बहादुर पोखरेल
फागुन ३०, काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक निती अनुरुप माइक्रोफाइनान्स वित्तीय संस्थाहरुको ब्यवसायीक हक अधिकार संस्थागत गर्न, लघुवित्त क्षेत्रका समस्या पहिचान गरी त्यसको निराकरण गरी लघुवित्त क्षेत्रलाई मर्यादित बनाउन लघुवित्त संघ नेपाल गठन गरिएको छ ।
राष्ट्र बैंकबाट स्वीकृत लिएर वित्तीय कारोबार गरिरहेका ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको एकता, नीतिगत प्रष्टता, प्रभावकारी कार्यक्रम कार्यान्वयन विधि, नियमनकारी निकायहरुसँगको नीतिगत समन्वय गर्ने कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाउन लघुवित्त संस्थाका लगानीकर्ता, सञ्चालक तथा अध्यक्षहरुको छाता संगठनको रुपमा लघुवित्त संघ नेपाल संस्था स्थापना गरिएको हो ।
गत पुष ५ गते लघुवित्त वित्तीय संस्थाका अध्यक्षहरुको भेलाले माइक्रोफाइनान्स एशोसिएशन अफ नेपाल स्थापना गर्ने निर्णय अनुरुप चौतारी लघुवित्त वित्तीय संस्था लि. वुटवलका जगत बहादुर पोखरेलको अध्यक्षतामा लघुवित्त संघ नेपालको स्थापना गरिएको हो । उक्त समितिको उपाध्यक्षद्वयमा ग्रामीण लघुवित्त वित्तीय संस्थाका माणिकरत्न शाक्य र फरवार्ड लघुवित्त वित्तीय संस्थाका अध्यक्ष भगवती चौधरी उपाध्यक्ष रहेका छन् ।
संघको महासचिवमा जनउत्थान लघुवित्त वित्तीय संस्थाका बाबुराम विश्वकर्मा रहेका छन् । सचिवमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका अनन्त कुमार श्रेष्ठ, कोषाध्यक्षमा आधिखोला लघुवित्त वित्तीय संस्थाका नरेश केसी र सदस्यहरुमा वोमी लघुवित्त वित्तीय संस्थाका बिमला उपाध्याय घिमिरे, अभियान लघुवित्त वित्तीय संस्थाका बाबुराम थापा तथा सुपर लघुवित्त वित्तीय संस्थाका किरण चौधरी रहेका छन् । संस्थाको विधान अनुसार अन्य दुई सदस्यहरु संघको बोर्ड बैठकले निर्णय गर्ने नवगठित संस्थाका अध्यक्ष जगत बहादुर पोखरेलले बताए ।
आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पोखरेलले लगानीकर्ताहरुको लगानी सुरक्षणको लागि, सरकारले लागू गरेका मौद्रिक नीतिहरु कार्यान्वयन गर्न र जनता माझ लघुवित्त कार्यक्रमलाई प्रभावकारी रुपमा पुर्याउन संस्थाको स्थापना गरिएको बताए ।
‘लघुवित्त वित्तीय संस्थाहरुको सेवालाई गुणस्तरीय बनाई जोखिम कर्जा कम गर्न तथा वित्तीय संस्थाहरुविच आपसी भाइचारा सम्बन्ध स्थापना गर्न संस्था स्थापना गरेका हौं ।’ अध्यक्ष पोखरेलले बताए । नेपालमा हाल ९० वटा वित्तीय संस्था सञ्चालनमा रहेको, राष्ट्र बैंकका अनुसार अझै केही सञ्चालनको पाइपलाइनमा रहेको अवस्थामा संस्थाहरु विचपनि अस्वस्थ प्रतिष्पर्धा भइरहेकोले कर्जा जोखिम बढेको, डुप्लिकेसी बढेको भन्दै ती समस्या हल गर्नका लागि पनि लघुवित्तका लगानीकर्ताहरु एक जुट भएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै संघकी उपाध्यक्ष भगवती चौधरीले पछिल्लो समय लघुवित्त संस्थाहरुमा डुप्लिकेसी बढेको बताउँदै लघुवित्त वित्तीय संस्थाहरुको लगानी सुरक्षित गर्नु चुनौति बढेको बताइन् । नेपालका लघुवित्तहरुले लिने ब्याजदर अन्य मुलुकको दाँजोमा कम रहेको पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ चौधरीको भनाइ थियो ।
‘भारतकै कुरा गर्दा त्यहाँका लघुवित्तहरुले २७ देखि ३० प्रतिशत ब्याज लिन्छन्, बंगलादेशको ३० देखि ४० प्रतिशत छ, फिलिपिन्सको कुरा गर्दा त्यहाँ त एक सय प्रतिशत समेत लिने गरेको पाइएको छ । नेपालको हकमा हामीले ६ प्रतिशत भन्दा बढि मार्जिन राखेर कर्जा प्रवाह गरेकै छैनौं ।’
चौधरीले लघुवित्तहरुले २ प्रतिशतमा पैसा ल्याएर २२, २४ प्रतिशत ब्याजदरमा लगाउने गरेको हल्ला मात्र भएको जिकिर गरिन् । ‘२ प्रतिशतमा कसले पैसा दिन्छ । बैंकहरुबाट कर्जा लिँदा १३, १४ प्रतिशतसम्म तिरेका हुन्छौं । त्यसमा नेपाल राष्ट्र बैंकले दिएको ६ प्रतिशत मार्जिन राखेर सामुहिक जमानीमा कर्जा प्रवाह गर्ने हो ।’ उनले भनिन् ।
चौधरीले राष्ट्र बैंकले लघुवित्त क्षेत्रमा देखिएका समस्या हल गर्न मर्जरको नीति ल्याएकोले अब लघुवित्त संस्थाहरु मर्जरको प्रक्रियामा जानुपर्ने बताइन् । ‘बढिमा २५, ३० वटा लघुवित्त भए पुग्छ । बढि लघुवित्त संस्थाहरु भएरपनि अस्वस्थ प्रतिष्पर्धा भएको छ, डुप्लिकेसी बढेको छ ।’ उनले भनिन् ।
पुष मसान्त सम्मका प्रमुख वित्तीय सूचकांक अनुसार हाल नेपालमा ९० वटा लघुवित्त वित्तीय संस्थाले देशका ७७ वटै जिल्लाहरुमा कार्यक्रम चलाईरहेका छन् । यी संस्थाहरुमा १८ हजार ८ सय ८५ कर्मचारी छन् । ती संस्थाहरुका ३ हजार ८६१ शाखा, २ लाख ९८ हजार ३ सय ५९ केन्द्रमा १० लाख ५ हजार ५ सय ३८ समुह रहेका छन् । जसमा ४५ लाख ७९ हजार, ७ सय ३९ सदस्य रहेका छन् ।