भारतमा माओवादी विद्रोहीको आक्रमणमा १७ भारतीय प्रहरीको मृत्यु

चैत्र १०, एजेन्सी । मध्य भारतको छत्तीसगढ राज्यमा माओवादी विद्रोहीद्वारा शनिबार गरेको आक्रमणमा १७ प्रहरीको मृत्यु भएको छ । सुकमा जिल्लाको जंगलमा रहेको पुलिस कमाण्डो गस्तीमा भएको आक्रमणमा ती प्रहरीको मृत्यु भएको हो । आक्रमणपछि आइतबार नै उक्त जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी पठाइएको राज्य सरकारले बताएको छ । 

स्थानीय प्रहरी सुपरिटेन्डेन्ट शलाब सिन्हाले एएफपीलाई दिएको जानकारीअनुसार करिब ३०० सशस्त्र नक्सलवादी विद्रोहीले प्रहरीको कमाण्डो फोर्समाथि आक्रमण गरेपछि प्रहरीतर्फ यति ठूलो संख्यामा क्षति भएको हो । 

‘हामीले १७ प्रहरी अधिकारीको मृत शरीर घटनास्थलबाट संकलन गरेका छौँ भने अन्य १५ जना प्रहरीलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाएका छौँ,’ उनले भने, ‘हामीलाई जानकारी भएअनुसार करिब ३०० देखि ३५० माओवादी विद्रोहीले प्रहरी कमाण्डोमाथि आक्रमण गरेका थिए ।’ 

प्रहरीका अनुसार शनिबार भएको झडपमा चार माओवादी लडाकू पनि मारिएका छन् । सन् २०१७ को अप्रिलदेखि प्रहरीले थालेको अतिवादी वामपन्थी गुरिल्लाविरोधी कारबाहीमा ठूलो संख्यामा विद्रोहीले क्षति व्यहोरेको छ । माओवादी विद्रोहीको आक्रमणमा सन् २०१७ मा २५ प्रहरीको मृत्यु भएपछि प्रहरीलाई शसक्त बनाई कारबाही थालिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *