विराटनगरको अर्थतन्त्र खस्केको अवस्थामा छ : अध्यक्ष थापा
चैत्र, ५ विराटनगर । विगत २० वर्षदेखि सञ्चालनमा आएको विराट व्यापार सङ्घ, उद्योगी व्यापारीहरूको छाता सङ्गठन हो । व्यवसायीहरूको हक हितका लागि काम गर्दै आइरहेको सङ्घको अध्यक्ष पदको कार्यभार ९ महिनादेखि सुजन थापाले सम्हाल्दै आइरहेका छन् । लामो समयदेखि सामाजिक कार्यमा सक्रिय थापासँग हाल विराटनगरमा रहेका व्यवसायीहरूको अवस्था, चुनौतीको विषयमा रहेर गरिएको संक्षिप्त कुराकानी ।
विराट व्यापार सङ्घको अध्यक्ष पदभार सम्हाल्नुभएको ९ महिने यात्रा, कस्तो महसुस गर्नुभएको छ ?
कुनै सङ्घ संस्थाको नेतृत्व गर्न त्यति सहज त नहुँदो हो तर पनि हालको समय अवधिसम्म ठिकै छ ।
विराट व्यापार सङ्घको हालसम्मको गतिविधि के कस्तो छ ?
विराट व्यापार सङ्घ २० वर्षदेखि व्यपारीहरुको हक, हितका लागि खुलेको संस्था हो । विगतदेखि हालसम्म व्यापारीहरूको हक, हितका लागि नै अगाडि बढिरहेको छ । व्यपारीहरुको कुनै पनि समस्या साथै समस्याको समाधानको विषयलाई लिएर प्रदेश सरकारमा होस् या स्थानीय निकायसँग आवाज उठाउने गर्दछौ । धेरै कुराहरू त हाम्रो पहलमा समस्याको समाधान भएको पनि छ । अहिलेसम्म यी नै विषयमा निरन्तर हाम्रो सङ्घ लागिरहेको छ ।
उद्योग सङ्गठन, मोरङ व्यापार सङ्गठन हुँदा हुँदै विराट व्यापार सङ्घ किन ?
विराट व्यापार सङ्घमा साना व्यवसायीदेखि ठुला व्यवसायीसम्म आबद्ध हुनुहुन्छ । उद्योग सङ्गठनमा उद्योगी साथीहरू हुनुहुन्छ भने हामीसँग चाहिँ साना व्यापार गर्नेदेखि लिएर ठुला इन्डस्ट्री गर्नेहरू पनि हुनुहुन्छ । सबै हिसाबका धेरै सदस्यहरू हुनुहुन्छ त्यहीँ भएर विराट व्यापार सङ्घ आवश्यक परेर स्थापना गरिएको हो ।
सङ्गठनमा रहेर तपाईँले के कस्ता काम गर्नुभयो ?
कामको हिसाबमा त धेरै नै गरेका छौँ । सरकारी निकायबाट आउने कार्यालय प्रमुखहरूलाई स्वागत गर्दै उहाँहरूसँग अन्तरक्रिया (छलफल) गर्छौँ । म अध्यक्ष हुने बित्तिकै जुन केन्द्रीय सरकारले ल्याएको कर नीति ३,४ वटा इस्युहरु थिए । त्यसमा विराट व्यापार सङ्घको नेतृत्वमा त्यसको विरुद्ध आन्दोलन मेरै नेतृत्वमा भएको थियो । आन्दोलनमा अन्य संस्थाले पनि सहभागिता जनाएका थिए । केही समय पश्चात् सम्बोधन भयो र एउटा समिति निर्माण भयो । त्यो आन्दोलन हामीले रोक्नु पर्यो । नेपाल सरकारबाट बनेको समितिबाट खासै त्यस्तो उपलब्धि त देखिएको छैन । यसका अलावा हाम्रो सङ्घले विभिन्न निकायसँग प्रदेश सरकार, केन्द्रीय सरकार या स्थानीय निकायको सरकारसँग विभिन्न सरकारी कर्मचारीका प्रमुख जस्तै भन्सार, सुरक्षा निकायसँग अन्तरक्रिया गरी उहाँहरूसँग भएका समस्या साथै हाम्रा उद्योगी व्यवसायीहरूसँग भएका समस्या लिएर राख्छौँ । हाम्रा समस्याका विषयहरू प्रहरी प्रमुख, सिडिओ, साथै भन्सार प्रमुख ज्युहरूले साथै विभिन्न निकायबाट राम्रो नै भूमिका निभाइदिनुभएको छ ।
चुनौतीहरू नि ?
चुनौती त धेरै नै छन् । अहिले उद्योगी व्यवसायीहरूलाई नेपालमा व्यवसाय गर्न धेरै नै गाह्रो छ । विभिन्न तीन तहको करको कुराले पनि गाह्रो भइरहेको छ । कर लाद्ने काम भइरहेको जस्तो आभास भइरहेको छ । नयाँ, नयाँ कर नीतिहरूले गर्दा उद्योगी व्यवसायीहरूको मनोबल खस्केको अवस्था छ । करका दायराहरू धेरै नै बढ्दै गएकोले व्यवसाय क्षेत्र बढ्ने भन्दा पनि घट्दो अवस्थामा छ । भेकल टयाकिङ आयो धेरै व्यवसायीहरू मारमा परेका छन् । ठुला व्यवसायीहरू त म्यानपावर हुन्छन् । साना साना व्यापार व्यवसायीहरूलाई गाह्रो परेको छ । त्यसमा पनि सीमा क्षेत्र नजिक भएकाले, अधिकांश उपभोक्ताहरू सस्तोका लागि जोग बनी नै पुग्ने गर्दछन् । विराटनगरको बजार सुनसान नै देखिन्छ । यो विषय जुनसुकै फोरममा उठाइ नै रहेका छौ । स्थानीय निकायको सरकारसँग पनि यो विषयमा कुरा उठाइरहेका छौ । धेरै चुनौती छ । हामीले राज्यलाई घचघच्याउने हो, समस्यालाई राज्यले सुन्दिनु पर्यो भन्दै आवाज उठाउने हो । हामीले राज्य र व्यापार व्यवसायी गर्ने साथीहरूका लागि पुलको काम गरिदिने हो । यो समस्याका लागि राज्यलाई खबरदारी गर्ने काम दिनरात नै गरिरहेका छौ ।
विराटनगर औद्योगिक, व्यापारिक हिसाबले इतिहास बोकेको ठाउँ हो, व्यवसायमा यस्तै चुनौती आइपरे यो क्षेत्रको अर्थतन्त्र कस्तो रहला ?
हाल विराटनगरको अर्थतन्त्र खस्केको अवस्था मा छ । त्यसमा पनि कोरोना भाइरस सङ्क्रमणका कारण बजार सुनसान छ । यातायात पातलिएको छ । पहिलेको जस्तो भिडभाड छैन बजारमा मार्केटमा पैसा अभाव छ । मार्केटमा पैसा सङ्कलन गर्न जाँदा व्यापारीहरूसँग पैसा छैन । आर्थिक मन्दी झनै जटिल होला जस्तो देखिरहेको छु । त्यसैले पनि यो क्षेत्रको अर्थतन्त्र जटिल देखिन्छ ।
राज्यको तर्फबाट व्यवसायीहरूका लागि कस्तो खालको नीति भए राम्रो हुने थियो ?
हामीले कर नतिरेसम्म राज्य पनि चल्दैन । हामी उद्योगी व्यवसायीहरूले कर नतिर्ने भन्ने होइन । कर तिर्न तयार छौँ । तर कर मात्रै बढाउने होइन । करको दायरा बढाए पनि कर नबढाइदिए राम्रो । करको दायरा भित्र अझै व्यापारीहरूले ध्यान दिएका छैनन् । भारतबाट आएर व्यवसाय गरेर आफ्नो देश फर्किरहेका छन् । उनीहरूलाई स्थानीय निकायको करले पनि छुँदैन । न केन्द्र करले छुन्छ न भन्सारमा कर तिर्नु पर्छ । भारतबाट आएर हटिया बजारमा आएर व्यापार व्यवसाय गरेर फर्किने क्रम बढेको छ । उनीहरूलाई कुनै करको दायराले छुँदैन । यहीँ बसेर व्यवसाय गर्नेहरूले कर तिर्नु पर्छ । घर भाडा तिर्नु पर्यो । यस्ता करका दायरालाई राज्यले पहिचान गर्न विशेष पहल गर्नुपर्छ जस्तो मलाई लाग्छ ।