१०१ वर्षीय वृद्धले कोरोनालाई जिते, उपचारपछि फर्किए घर
चैत्र १८, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित इटालीका १०१ वर्षीय वृद्ध उपचारपछि घर फर्किएका छन् ।
गत साता उत्तरपूर्वी इटालीको रिमिनी सहरको एक अस्पतालमा कोरोना भाइरस संक्रमणको कारण भर्ना भएका ती वृद्ध उपचारपछि बिहीबार निको भएर घर फर्किएका हुन् ।
द साइन्स टाइम्सका अनुसार यो निकै असामान्य घटना भएको रिमिनीका सहायक मेयर ग्लोरिया लिसीले बताएका छन् । किनकी एक सय वर्ष पूरा भइसकेको मानिस पनि यो भाइरस लागेपछि निको हुन निकै कठिन हुन्छ । यसअघिको तथ्यांकले पनि कोरोना भाइरसको असर वृद्ध मानिसहरुलाई बढी देखिने गरेको छ ।
इटालीको तथ्यांक अनुसार यो भाइरसबाट ज्यान गुमाउनेमा ७० वर्ष कटेका मानिसको दर ८६ प्रतिशत छ । यस्तो अवस्थामा १०१ वर्षको मानिसको भाइरसविरुद्धको लडाइँले सबैलाई प्रेरणा मिल्ने बताइएको छ ।
कोरोनाबाट आज (मंगलबार) बिहानसम्म ३५ हजार बढीको मृत्यु भइसकेको छ भने ७ लाख बढी संक्रमित भएका छन् ।