‘लकडाउन’को तेस्रो दिन: कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्र धरासायी, राजधानी चकमन्न

चैत्र १३, काठमाडौं । कोरोना भाइरस संक्रमण सचेतना ‘लकडाउन’को तेस्रोदिन आज राजधानी सुनसान देखिएको छ । सरकारले मंगलबार देखि मुलुकभर ‘लकडाउन’ गरेसँगै जनजिवन अस्तब्यस्त बनेको छ ।   

राजधानीका मुख्य सडकहरु मात्र हैन, चौक, गल्ली र सहायक सडकहरु पनि सुनसान रहेका छन् । कोटेश्वर, नयाँ बानेश्वर, चावहिल, गौशाला, मैतिदेवी, डिल्लीबजार, पुतलीसडक तथा बागबजार जस्ता अत्याधिक चहलपहल हुने स्थानहरु चकमन्न छन् । न्यूरोड, असन, भोटाहिटी, लाजिम्पाट, नक्साल, ठमेल सुनसान भएका छन् ।   

देशभर सडक अवागमनमा रोक लगाएसँगै लामो तथा छोटो दुरीका यातायात थन्किएका छन् । अत्यावश्यकका सवारी साधन एम्बुलेन्स, सुरक्षाकर्मी, दमकल, खानेपानी, दुध, खाद्यान्नका सवारी चलेपनि सदा जस्तो चलेका छैनन् ।   

साता व्यापी ‘लकडाउन’ले मुलुकको अर्थतन्त्र धरासायी भएको छ । बैंक वित्तीय संस्था, स्कुल कलेज विश्वविद्यालय, उद्योग कलकारखाना ठप्प छन् । कोरोना भाइरसले सबैभन्दा बढि प्रभावित क्षेत्रमा पर्यटन व्यवसाय परेको छ । नेपालले भिजिट २०२० मनाउँदै गर्दा आएको कोरोना संक्रमणले मुलुकभरका पर्यटन र होटल ब्यवसाय चकमन्न भएका छन् ।   

राजधानीसँगै राजधानी बाहिर सञ्चालित ठूला होटल र पर्यटकीय क्षेत्र बन्द भएका छन् । कतिपय उद्योग ब्यवसायले कामदार समेत कटौती गरीसकेका छन् । पोखरा, काठमाडौं, चितवन, लुम्बिनी, शगरमाथा जस्ता पर्यटकीय क्षेत्र सुनसान भएका छन् ।   

सरकारले भिजिट २०२० नै स्थगित गरेको छ । २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजनामा धक्का लाग्नु र उद्योग व्यवसाय नै बन्द गर्नुपरेको अवस्थाले मुलुकको जिडिपीमा समेत ठूलो असर पर्ने अर्थविद्हरुको अनुमान छ ।   

राजधानी मात्र हैन, कोरोना सन्त्रासका कारण राजधानी बाहिरको जनजिवन पनि अस्तब्यस्त बनेको छ । राजधानी बाहिरका ठूला शहर चितवन, हेटौडा, वुटवल, भैरहवा, विरगंज, जनकपुर, विराटनगर, विर्तामोड जस्ता शहरहरु सुनसान भएका छन् । ती शहरमा बाहिरी क्षेत्रबाट काम गर्न, पढ्न आएका नागरिकहरु घर फर्किएका छन् । राजधानीबाट मात्रै ‘लकडाउन’ हुनु अगाडी नै करिब ६ लाख मानिस घर फर्किएका छन् ।   

राजधानीमा अत्यावश्यक वस्तुको अभाव भएको छ । माक्स र सेनिटाइजर र खाना पकाउने इन्धनको अभाव एक सातादेखि नै देखिँदै आएकोमा अहिले खाद्यान्न र तरकारीको चरम अभाव देखिएको छ । कतिपय ब्यापारीले मौकाको फाइदा उठाउँदै कालोबजारी गरीरहेपनि सरकारले नियमन गर्न सकिरहेको छैन । खासगरी इन्धनमा कालोबजारी भइरहेको जनगुनासो छ ।   

यतिबेला निजी स्वास्थ्य संस्थाहरुले सामान्य ज्वरो र रुघाखोकी लागेका नागरिकको उपचार र स्वास्थ्य परीक्षण गर्न नमानेपछि सबै भन्दा बढि सामान्य भाइरलबाट संक्रमित विरामीहरु आक्रान्त भएका छन् । राजधानीका नाम चलेका ठूला अस्पतालहरु ग्राण्डी, मेडिसिटी, बयोधा, ह्याम्स, नर्भिक, ग्रिनसिटी जस्ता अस्पतालले ज्वरो, रुघाखोकी तथा निमोनियाका विरामीको स्वास्थ्य परीक्षण र उपचार गरेका छैनन् ।   

चार महिना अघि चीनको उहान शहरबाट शुरु भएको कोभिड–१९ अहिलेसम्म विश्वका १९५ देशहरुमा फैलिइसकेको छ । जसले आजका दिनसम्म २१ हजार २ सयको ज्यान गइसकेको छ । यो रोगबाट सबैभन्दा बढि आक्रान्त इटाली भएको छ । चीनमा कोरोना भाइरस सामान्य नियन्त्रणमा आएपनि इटालीमा अहिलेसम्म ७ हजार पाँच सय तीन जनाको मृत्यु भएको छ भने, स्पेन, अमेरिकामा पनि मृत्युदर बढेको छ ।   

नेपालमा हालसम्म तीन जनामा यो रोग देखापरेपनि एक जना निको भइसकेका छन् । बाँकी दुई जना आइसोलेसनमा रहेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *