अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप परिक्षाण सुरु
चैत ४, एजेन्सी । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसबाट बचाउन अमेरिकामा मानिसमाथि खोपको पहिलो परीक्षण सुरु गरिएको छ ।
अमेरिकास्थित बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेसनल इन्स्टिच्युट अफ हेल्थले संयुक्त रूपमा उत्पादन गरेको खोपको सोमबार परीक्षण (क्लिनिकल ट्रायल) सुरु गरिएको अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।
समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार अमेरिकाको वासिङ्टनअन्तर्गत सिएटल सहरस्थित काइजर परमानेन्ट अनुसन्धान केन्द्रमा ४ जनालाई परीक्षण खोप लगाइएको हो।
जसअन्तर्गत सबभन्दा पहिले २ सन्तानकी आमा ४३ वर्षीया जेनिफर हालेरलाई खोप दिइएको समाचार संस्था एपीले जनाएको छ।
खोप लगाएपछि उनले भनेकी छन्, ‘यो मेरा लागि केही गर्न उत्साहजनक अवसर हो।’
खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तयार गरिएको हो । यसले कोभिड–१९ रोग भने लाग्दैन ।
यद्यपि, यो खोप र परीक्षणमा रहेका अन्य खोपले काम गर्छ वा गर्दैन भनेर निश्चित हुन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् ।