विपन्न परिवारको घर घरमा तरकारी बोकेर पुग्छन् विवश पण्डित

चैत्र १५, विराटनगर। चीनको वुहानमा देखापरेको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण यति बेला विश्वका १९६ मुलुकमा फैलिसकेको छ। कोरोना भाइरसको प्रकोप फैलँदै जाँदा विश्वभरका मानिसहरूका निम्ति यो खराब समय बन्न पुगेको छ। कोभिड-१९को संक्रमणबाट जोगिन विश्वका अधिकांश राष्ट्रहरूले ‘लकडाउन’को घोषणा गरेका छन्। तर पनि कोभिड-१९ ले रोकिने नाम लिइरहेको छैन। 

निकै ढिला गरी नेपालमा पनि कोभिड-१९को प्रभाव देखिएको छ।  शनिवारसम्ममा पाँच नेपालीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। कैयौँ मानिसहरू आइसोलेशनमा बस्न बाध्य छन्। 

यस भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले मङ्गलवारबाट देशैभर लकडाउन घोषणा गरेको छ। देशभर लकडाउन गरिएसँगै आम मानिसमा विविध समस्या देखा पर्न थालेका छन्। विशेष गरी श्रमिक तथा विपन्न परिवारमा भोकमरीको अवस्था सिर्जना हुने खतरा छ। देश सङ्कटको यस परिस्थितिबाट गुज्रिरहेको बेला इनरुवा २ सुनसरीका युवा विवश पण्डित गरिब, विपन्न परिवारको सेवामा खटिरहेका छन्।   

उनी दैनिक जसो घरघरमै तरकारीको पोका बाँड्दै हिँड्छन्। उनको दैनिकी बिहान ६ बजेबाट सुरु हुन्छ। बिहानको समयमा उनी आफ्नो दैनिक कार्य सकाउँछन्। त्यसपछि तरकारी पोका, पोका बनाउँछन् र विपन्न परिवारको घरसम्म पुग्छन्। दिनहुँ उनी २० देखि ३० पोका तरकारी विपन्न परिवारको घर घरमा पुर्‍याउँछन्।   

को हुन् विवश ? 

विवश पण्डित राजनीति दलका नेता वा कुनै सङ्घ संस्थामा आबद्ध व्यक्ति होइनन्। उनी एक विद्यार्थी हुन्। काठमाडौंस्थित नेसनल कलेज अफ कम्प्युटर साइन्समा बिएचएम अध्ययनरत विद्यार्थी हुन उनी।   

राती क्यासिनोमा काम गरेर उनले आफ्नो अध्ययनको लागि खर्च जुटाउँछन्। त्यहीबाट जम्मा गरेको केही रकमबाट उनले विपन्न परिवारको लागि तरकारी सहयोग गरिरहेका छन्। ‘अहिले मुलुक लकडाउनको कठिन अवस्थामा छ। जसका कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई असहज परिस्थिति बनेको छ। त्यस कारण उनीहरूलाई सहयोग होस् भनेर तरकारी घर घरमा पुर्‍याइरहेको छु,’ उनले सुनाए।   

उनलाई सहयोगको लागि दिनहुँ जसो फोन आउने गर्दछ। फोनमा सबैले भन्ने गर्छन् ‘बाबु मेरो घर छेउमा विपन्न परिवार छन्, तिनीहरूलाई सहयोग गरिदेउन है ?’ फोनको आधारमा नै तरकारीको पोको बोकेर विपन्न परिवारको घरमा पुग्ने गरेको उनी सुनाउँछन्। ‘यस्तो विपद्को घडीमा पैसा हुनेले त जोहो गरेका होलान्। नहुने त भोकमरीले मर्लान् नि ?,’ उनले मुस्कुराउँदै भने। 

उनलाई यस कार्यको लागि कतैबाट ठूलो आर्थिक सहयोग आएको छैन। तर अहिले जिल्ला प्रशासन सुनसरी, स्थानीय प्रहरी र स्थानीय केही मानिसहरूले भने केही आर्थिक सहयोग गरेको उनले सुनाए। उनले इनरुवा नगरपालिका भरी विपन्न परिवारलाई आफूले तरकारी वितरण गर्ने गरेको बताए।  उनी भन्छन्, ‘सम्पन्न परिवारहरू त जसोतसो  जिउँछन् तर ती विपन्न परिवारलाई कसले हेर्ने ? त्यस कारण मैले आफ्नै पैसा खर्चिएर केही सहयोग गरेको छु।’ 

गरिबको छाक टार्न यो एउटा सानो कोसिस मात्र गरेको उनले सुनाए। उनी थप्छन्, ‘यो अभियानले अरूलाई पनि प्रेरणा मिलोस्, जसले गर्दा उनीहरूले आफ्नै ठाउँमा भएका विपन्न परिवारलाई केही राहत गरुन्।’ उनले आफूले सकेसम्म ‘लकडाउन’को अवधिभर सकिने जति सहयोग बताए।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *