अमेरिकामा कोरोना त्रास : एक वकिल संक्रमित हुँदा एक हजार मानिस क्वारेन्टाइनमा
फागुन २२, एजेन्सी । चीनबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म ३ हजार २ सयभन्दा बढिले ज्यान गुमाइसकेका छन् । उक्त भाइरस विश्वका ८४ भन्दा बढि देशमा फैलिसकेको छ भने, ९० हजार संक्रमित भइसकेका छन् ।
यसैबीच अमेरिकाको राजधानी न्युयोर्कमा एक वकिलको पुरै परिवारलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूका सम्पर्कमा आएका झन्डै १ हजार जनालाई क्वारेन्टाइनमा राख्नुपर्ने भएको छ।
न्युयोर्कको म्यानहटनमा ल फर्म सञ्चालन गरिरहेका ती वकिललाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनका परिवारका सबै सदस्यको नमुना परीक्षण गरिएको थियो।
परीक्षण क्रममा वकिलकी पत्नी, २० वर्षीय छोरो र र १४ वर्षीया छोरीमा पनि संक्रमणको प्ष्टि भएको छ । त्यसपछि उनको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको पनि खोजी गर्दै स्वास्थ्य परीक्षण गर्न थालिएको छ ।
त्यस क्रममा वकिललाई उपचारका लागि गाडीमा अस्पताल लैजाने छिमेकीलाई समेत गरी उनको सम्पर्कमा आएका ९ जनालाई समेत कोरोना संक्रमण पुष्टि भएको समाचारमा जनाइएको छ ।
संक्रमित ती सबैको सम्पर्कमा आएका व्यक्ति झन्डै १ हजार रहेका र ती सबैलाई क्वोरेन्टाइनमा राख्नुपर्ने भएको हो।
ती सबैलाई सेल्फ क्वारेन्टाइनमा राख्न त्यहाँको स्वास्थ्य विभागले निर्देशन दिएको समाचारमा उल्लेख छ।
यसैबीच कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म ११ जनाको ज्यान गइसकेको छ ।
अमेरिकाको १६ राज्यमा कोरोना संक्रमण फैलिसकेको छ भने डेढ सय संक्रमित भइसकेको अमेरिकी अधिकारीहरूले जनाएका छन्।