चिनियाँ संस्थाले नेपाललाई दियो दुई हजार किट

चैत्र १३, एजेन्सी । चीनको एक ब्यवसायीक कम्पनीले नेपाललाई दुई हजार किट उपलब्ध गराएको छ । चीनको बेइजिङ मल्टिपल ट्रेड एण्ड कमर्स ब्युरोले कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने दुई हजार किट नेपाल सरकारलाई उपलब्ध गराएको छ । 

बुधबार ब्युरोले कोरोना भाइरसविरुद्ध लड्न बेइजिङस्थित नेपाली दूतावासमार्फत किट प्रदान गरेको हो । 

व्युरोको तर्फबाट काठमाडौंमा काम गर्ने इन्टरनेसन इन्भेस्टमेन्ट एण्ड कोअपरेसन कन्सल्टिङ सर्भिस कम्पनी प्राइभेट लिमिटेडले किट अभावमा कोरोनाको पर्याप्त परीक्षण हुन नसकेकोतर्फ ध्यान दिँदै किट उपलब्ध गराइएको बताएको छ ।   

‘किट सहयोग नेपाल–चीनबीचको भातृत्वको भावका रुपमा लिइएको बताइएको छ । बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार, उपहारस्वरूप प्राप्त किट बिहीबार तिब्बत पुर्याइने छ ।  त्यहाँबाट भने स्थलमार्ग हुँदै काठमाडौं ल्याउने तयारी गरिएको छ ।   

कम्पनीका अध्यक्ष हरिप्रसाद ढुंगानाले सरकारलाई उपहारस्वरूप उपलब्ध गराइएको किट ३० हजार अमेरिकी डलर मूल्यबराबर रहेको एपीडी न्यूजलाई बताएका छन् । यसले २ हजार मानिसको स्वास्थ्य परीक्षण गर्न सकिने एपीडी न्युजले जनाएको छ । 

कोरोना भाइरस परीक्षणका लागि किट अत्यावश्यक भएपनि कोरोना भाइरस विश्वका १ सय ९७ बढी देशमा फैलिएपछि सर्वसुलभ हुन सकेको छैन । पर्याप्त किट नभएपछि नेपाल सरकार यसको जोहोमा जुटेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताउँदै आएका थिए ।   

किट अभावपछि टेकुस्थित राष्ट्रिय प्रयोगशालाले जनवरीदेखि हालसम्म ६८७ नमूना मात्र परीक्षण गर्न सकेको छ । यसमध्ये तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *