विपदले निम्त्याएको पीडा, क्षती हेरेर दिन काट्दै किसान

वैशाख ९ चितवन । न त बजार,न त उचित मुल्य त्यस माथी लकडाउनको समस्या । विगत तीन दिन देखि यताको हावाहुरी र असिनापानीले किसानलाई झनै पीडा निम्त्याएको छ । २५ वर्षभन्दा बढि भयो खैरहनी १० खरखुट्टेका किसान यज्ञ वहादुर आचार्यले तरकारी खेती सुरु गर्न थालेको । एकै पटक लकडाउन र असिनापानी व्यहोरेका थिएनन् उनले । ‘पहिलो पटक लकडाउनको अनुभव गरियो, यसै वेला अहिले सम्मकै ठुलो असिनापानीले तरकारीवाली क्षती भयो ।’ किसान आचार्य भन्छन् –‘प्राकृतिक विपत्ती पनि किसानमानै किन खनिन्छ ?’

 २०५१ सालदेखी तरकारी खेती सुरु गरेका उनले पहिलो पटक अहिले सम्मकै ठुलो क्षती व्यहोरेको बताए । उनले ३० कठ्ठामा विभिन्न तरकारी लगाएका छन् । सोमबारको असिनापानीले उनको खेतमा लगाईएको चिचिण्डा, करेला, भिण्डी र लौका पूरै नष्ट भएको छ । करेला बजारमा विक्री सुरु भएको थियो भने लौकाबाट केही आम्दानी गरेका थिए । चिचिण्डा र भिण्डी एक किलोपनि वेच्न नपाई आखै अगाडी नष्ट भएको हेरेर बस्न बाध्य बन्नु परेको किसान आचार्यले गुनासो गरे ।

उनले तरकारी खेतीका लागि झण्डै ३ लाख रुपैंया लगानी गरेका छन् । १३ कठ्ठा लिजमा लिएका उनको बाँकी जग्गा भने आफ्नै हो । आचार्यको मात्र होईन असिनापानीले यस क्षेत्रका थुप्रै किसानको तरकारीवाली नष्ट भएको छ । यस क्षेत्रमा अहिले करेला, चिचिण्डा, लौका, गोलभेडा, खरवुजा, भिण्डीको खेती गरिएको छ । खैरहनी वडा नम्वर १० मा मात्रै करिब नौ विगाहामा खरवुजा खेती गरिएको छ ।

चुरियामाई कृषि तथा पशु फर्म मार्फत पहिलो पटक २७ कठ्ठामा खरवुजा खेती गरेका माधव प्रसाद अर्याल खेती पूर्ण रुपमा नष्ट भएको वताउँछन् । अर्यालसँगै उत्तम कर्मचार्य र राजन गिरीले २७ कठ्ठामा खरवुजा खेती गरेका हुन् । खरवुजा यही वैशाख २० गतेतिर विक्रीका लागि योग्य हुन्थ्यो । मुखमा आएको बाली क्षणभरमै नष्ट भयो किसान अर्यालले भने–‘पहिलो वर्षमै प्रकृतिले पनि ठग्यो ।’ सो खेतीको बीमा भने गरिएको छ । बीमाबाट केही राहत मिल्ने उनको भनाई छ । क्षती नभएको भए २० लाख रुपैयाको आम्दानी हुने अर्का किसान उत्तम कर्मचार्यले बताए ।

खरखुट्टेकै किसान सिताराम अर्यालको गोलभेडा र फर्सी खेतीमा पनि असिनापानीले क्षती पुर्याएको छ । ९ कठ्ठाको गोलभेडा र ६ कठ्ठामा लगाईएको फर्सीमा क्षती पुगेको किसान अर्यालले बताए । असिनाले फर्सी चिरा चिरा पारेको छ । तयारी अवस्थाको गोलभेडा बाेटनै टुक्रा टुक्रा पारिदिएको छ । गोलभेडा र फर्सी खेतीका लागि सवा लाख रुपैया खर्च भएको उनले बताए । ७ कठ्ठामा लगाईएको गोलभेडा खेतीको भने बीमा गरिएको उनले सुनाए ।

खरखुट्टेमा मात्रै अन्दाजी ३० विगाहा क्षेत्रफलमा तरकारी खेती गरिएको छ । तरकारी मात्रै होईन् असिना पानीले मकै खेतीमा पनि ठुलो क्षती पुर्याएको छ । खरखुट्टेकै किसान युवराज उप्रेतीले आफ्नो मकैवालीमा असिनापानीले उत्पादनै नहुने गरि क्षती पुर्याएको बताए । उप्रेतीले ३ विगाहामा मकै लगाएका छन् । यस क्षेत्रमा मकै मात्रै करिब २० विगाहामा लगाईएको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जिल्लामा असिनापानी र हावाहुरीले पारेको क्षतीको बारे तथ्यांक संकलनको काम भईरहेकाले अहिलेनै यति क्षती भयो भन्न नसकिने जिकिर गरे ।

‘लगातार तिन दिनदेखी असिना पानी परिरहेको छ ।’ ढकालले भने –‘एक दिन एकतातिर अर्को दिन अर्को तिर असिनापानी परिरहेकाले स्थानीय पालिकालाई अनुरोध गरेर तथ्यांक लिईरहेका छौं ।’

उनका अनुसार पूर्वी चितवनमा बढि क्षती भएको छ । तरकारी र केराखेतीमा अत्याधिक क्षती भएको उनले बताए । बीमा गरेकालाई सहजीकरण गरेर राहत दिलाउने र नगरेकाहरुको तथ्यांक संकलन गरेर जिल्ला दैवी प्रकोप तथा विपद व्यवस्थापन समितिमा पेश गरिने ज्ञान केन्द्र प्रमुख ढकालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *