अध्यादेशविरुद्ध विपक्षी दलहरूको संयुक्त मोर्चा बनाउन प्रस्ताव

काठमाडौं। साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सरकारले ल्याएका अध्यादेशविरुद्ध मोर्चा बनाउन अनुरोध गरेका छन्। सभापति शेरबहादुर देउवासँगको टेलिफोन सम्वादमा संयोजक मिश्रले संसदभित्र र बाहिर रहेका दलको संयुक्त मोर्चा बनाउन अनुरोध गरेका हुन्।

संयोजक मिश्रले मूल रूपमा २ विषयमा केन्द्रित भइ सभापति देउवासँग छलफल भएको बताए। पहिलो विषयमा अध्यादेशविरूद्ध संसदभित्र र बाहिर रहेका दलको संयुक्त मोर्चा बनाउन र दोस्रो प्रस्तावमा सुरक्षा प्रोटोकलको व्यवस्था गरेर तुरून्तै संघीय संसदको बैठकका लागि आवाज उठाउन देवासँग आग्रह गरे। उनले समाजिक सञ्जाल ट्विटरमार्फत देउवासँग भएको छलफलबारे जानकारी गराएका हुन्।

‘सरकारले ल्याएका घातक अध्यादेशविरूद्ध एकजुट हुन संसदभित्रका मात्र होइन संसद बाहिर रहेका दलहरू पनि जोडेर मोर्चा बनाउन अग्रसरता लिनुस्,’ उनले ट्विटरमा लेखेका छन्, ‘सुरक्षा प्रोटोकलको व्यवस्था गरेर तुरून्तै संघीय संसदको बैठकका लागि आवाज उठाउनुस्। सुरक्षा प्रोटोकल कायम गरेर मन्त्रिपरिषदको बैठक हुन सक्छ भने राष्ट्रिय संकटका बेला संघीय संसद बस्न नसक्ने अवस्था छैन।’

सरकारले ल्याएका अध्यादेशविरूद्ध डिजिटल अभियान चलाउन पनि उनले देउवालाई सुझाव दिएका हुन्। प्रतिउत्तरमा देउवाले संसदबाहिरका दललाई पनि सामेल गराउने कुरामा साथीहरूसँग सल्लाह गर्ने बताए। यसअघि मिश्रले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि उच्चस्तरीय संयन्त्र गठन गर्न सुझाव दिएका थिए। यद्यपि प्रचण्डले उच्चस्तरीय संयन्त्रको माग गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन्।

ओलीले ल्याएका राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धिका अध्यादेश कांग्रेसले बेमौसमी भन्दै बिरोध गरेको छ। अध्यादेशबारे नेकपाभित्र समेत तीब्र राजनीतिक धुव्रिकरण बढिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *