कोरोनाले स्थानीय आर्थिक क्षेत्रमा ठूलो असर गरेको कांग्रेसीहरुको ठहर
विराटनगर । कोरोना संक्रमणको प्रभाव र लामो समयको लकडाउनबाट स्थानीय रुपमा आर्थिक क्षेत्रमा परेको असरको विषयमा नेपाली कांग्रेस मोरङले छलफल शुरु गरेको छ । विराटनगरमा बुधबार सामाजिक दूरी कायम गर्दै राखिएको छलफलमा अर्थविज्ञ, उद्योगी, व्यापारी र राजनीतिकर्मी सहभागी थिए ।
कार्यक्रमका सहभागीले कोरोना असरले अन्तर्राष्ट्रिय मात्र नभएर स्थानीय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्ने निश्कर्ष निकालेका छन् । मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा अर्थशास्त्री भेषप्रसाद धमलाले स्थनीय रुपमा हुने आर्थिक क्षेत्रको नकारात्मक असर निक्कै चिन्तालाग्दो हुने बताए । धमलाले भने,‘स्थानीय उत्पादन, वितरण प्रणाली र उपभोगको चक्र नै कोरोनाले प्रभावित बन्नेछ ।’
प्राध्यापक बलराम पौडेलले आर्थिक क्षेत्रका धेरै सूचकहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै प्रभावित हुने भएकोले स्थानीय क्षेत्रमा समेत यसको ठूलो प्रभाव पर्ने बताए । पौडेलले यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले ल्याएका विकासका धेरै योजनासमेत प्रभावित हुने सुनाए । ‘अब नागरिकलाई स्थानीय उत्पादनमा जोड्न सकियो भने अर्थतन्त्रलाई सकारात्मक सहयोग दिन सकिन्छ ।’ उनले भने ।
कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोरोनाले सबै क्षेत्रमा नकारात्मक असर गर्ने भन्दै यसबाट पारन पाउन निक्कै ठूलो तयारी तथा प्रयास हुनुपर्ने सुझाव दिए । कोइरालाले भने,‘औद्योगिक क्षेत्रलाई नियमित गर्ने र त्यसलाई व्यवस्थित गर्न सरकारले नै ध्यान दिनुपर्छ ।’ उनले सरकारले विशेष प्याकेज ल्याएर अर्थतन्त्रलाई सम्हाल्नु पर्ने सुझाव दिए ।
कांग्रेस केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवनकुमार शारडाले औद्योगिक क्षेत्रमा कोराना संक्रमणको कारण निक्कै ठूलो असर परेको बताए । उनले भने,‘बैंक व्याजदरदेखि करमा समेत सरकारले प्याकेजसहित छुटको प्रबन्ध गर्नुपर्छ ।’ प्राध्यापक अनिल पोखरेलले कोरोनाको कारण अर्थतन्त्रका धेरै सूचक ओह्रलो लाग्ने जोखिम हुँदा यसले तल पनि नकारात्मक प्रभाव पर्ने बताए ।
मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नविन रिजालले उद्योगधन्दा झन प्रभावित भएको जिकिर गरे । रिजालले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालन गर्नसमेत कठिनाई भएको सुनाए । उनले भने,‘श्रमिकका लागि पारिश्रमिकदेखि औद्योगिक कच्चा पदार्थको व्यवस्थापन जस्ता विषयमा पनि अहिले समस्या शुरु भएको छ ।’ कार्यक्रममा मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले कोरोना संक्रमणले परेको असरबारे प्रकाश पारेका थिए । अर्का सचिव मोदराज घिमिरेले तीनवटै तहका सरकारले आर्थिक विषयमा विशेष ध्यान दिन सुझाव दिएका थिए ।