दल दर्ताका लागि ‘जनता समाजवादी पार्टी’का नेताहरु निर्वाचन आयोगमा

काठमाडौं। बुधबार मध्यरातमा एकीकरण घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीका शीर्ष नेताहरु निर्वाचन आयोगमा पुगेका छन्। एकताको घोषणापछि नामाकरण गरिएको नयाँ दल ‘जनता समाजवादी पार्टी’ दर्ताका लागि शीर्ष नेताहरु निर्वाचन आयोग पुगेका हुन्।

आयोगको कार्यालय खुल्नासाथ समाजवादी पार्टीका उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठलगायत नेताहरु निर्वाचन आयोगको कार्यालय पुगेका छन्। सो पार्टीका नेता शरतसिंह भण्डारीले आफूहरुले दर्ता प्रक्रिया सुरु गरेको र अब आयोगले भनेअनुसार सबै बैधानिक प्रक्रिया पुरा गर्ने प्रतिक्रिया दिए।

राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा पछि दुवै पार्टीका चार–चार जना नेताले पार्टी एकताको पत्रमा हस्ताक्षर गरेका छन्। समाजवादीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारीले पार्टी एकताको सहमति पत्रमा हस्‍ताक्षर गरेका हुन्। शरत सिंह भण्डारी निवासमा ४ बुँदे समतिपत्रको ड्राफ्ट तयार पारी बुधबार राति पार्टी एकीकरणको घोषणा भएको थियो।

नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ। चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुने सहमति गरिएको छ। दुई पार्टीबीच समानताको आधारमा एकता हुने भनिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *