‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं। ‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ। बिहीबार दुवै दलका शीर्ष नेताहरु आयोगको कार्यालयमा पुगेर पार्टी दर्ता गराएका हुन्। बुधबार मध्यरातमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता गर्ने समझदारी भएको थियो। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै समाजवादी पार्टी फुटको संघारमा पुगेको थियो।

फुटलाई रोक्नका लागि रातारात पार्टी एकताको समझदारी भयो। ‘जनता समाजवादी पार्टी नेपाल’ १३८८‍औं नम्बरमा दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। नवगठित दलले दल दर्ताका लागि दिएको निवेदनमा आवश्यक कागजात भने बुझाएको छैन। पार्टी एकताका लागि भएको सहमतिपत्रसहित निवेदन दर्ता गराइएको छ। निवेदनमा अन्य आवश्यक कागजात लकडाउन खुलेपछि बुझाइने उल्लेख छ।

दल दर्ताका प्रक्रियाका लागि घोषणापत्र, झण्डा, चुनाव चिन्हको नमूना, कम्तीमा पाँचसय जना मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता पत्र र नागरिकता वा मतदाता परिचय पत्रको प्रमाणित प्रतिलिपी सहितको हस्ताक्षर पनि आवश्यक पर्छ।

दुई पार्टी तत्काल एकता गरी एकीकृत पार्टीको नाउँमा दल दर्ता गराए पनि पार्टी एकताको विस्तृत कार्य लकडाउनपछि गर्ने नेता राजेन्द्र महतोले प्रतिक्रिया दिए। ‘दल दर्ताका लागि निवेदन दियौं। बाँकी प्रक्रिया लकडाउन पछि पूरा गर्छौं। अब पार्टी फुट्दैन,’ निवेदन दर्तापछि महतोले भने।

निर्वाचन आयोगमा समाजवादीका तर्फबाट उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ सहभागी थिए भने राजपाका तर्फबाट राजेन्द्र महतो र शरद सिंह भण्डारी सहभागी भएका थिए। बुधबार राति समाजवादीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारीले पार्टी एकताको सहमति पत्रमा हस्‍ताक्षर गरेका थिए।

सहमतिअनुसार दुई पार्टीबीच समानताका आधारमा एकीकरण गर्ने, एकिकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने, एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकारमा रातो र हरियो रङको बीचमा तारा हुने र एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता चिन्ह प्रयोग गर्ने सहमति भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी कानुन परिमार्जन गरेर पार्टी फुटाउने खेल रचेको दुबै पार्टीले आरोप लगाएका छन्। सरकारले वैधानिकरुपमै आ-आफ्नो पार्टी फुटाउन उद्यत भएपछि एक वर्षअघि देखि छलफलमै रोकिएको दुबै पार्टीबीच एकता घोषणा भएको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *