प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटघाट

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच १ घण्टाभन्दा बढी समय छलफल भएको हो।

भेटमा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। सरकारले सोमबार दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर नेकपाभित्र र बाहिरकालाई शशंकित बनाएको छ। अध्यादेश जारी भएपछि समाजवादी पार्टी फुटको संघारमा पुगेको थियो।

फुटलाई रोक्न रातारात समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकताको समझदारी भयो। आज निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन समेत दिएको छ। नेकपा पनि दल विभाजन सम्बन्धी ल्याएको अध्यादेशबाट शशंकित बनेको छ। २० जना स्थायी समिति सदस्यले स्थायी समितिको बैठक बोलाउन माग गरेका छन्।

सरकारले ल्याएको अध्यादेश गलत भएको ठहरसहित पार्टीभित्र यसबारे छलफल गर्न जरूरी रहेको उनीहरुले बताएका छन्। अध्यादेशबारे प्रधानमन्त्री ओलीले बुधबार केही नेकपा सांसदहरुको रायसमेत बुझेका छन्। बुधबार उनले सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र प्रदेश १ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका थिए।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकताको समझदारी भएपछि मुलुकको राजनीतिमा अर्को नयाँ तरंग आएको छ।

प्रधानमन्त्री ओलीलेसमेत सांसदहरूसँगको छलफललाई स्थगित गरेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार छलफल गर्न बाँकी संसदहरूसँग अर्को दिन छलफल गरिने भएको छ। प्रधानमन्त्री अहिले आन्तरिक छलफलमा व्यस्त रहेकोले कार्यक्रम स्थगित भएको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *