अध्यादेश फिर्ता लिने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित अध्यादेश फिर्ता लिने तयारी गरेका छन्। अध्यादेशले पार्टीभित्र अनावश्यक विवाद सिर्जना गरेपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिने निष्कर्षमा पुगेका हुन्। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पार्टीका शीर्ष नेताहरु माधव नेपाल, झलनाथ खनालसहितले अध्यादेश फिर्ता लिन दबाब दिएका थिए।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान अध्यक्ष प्रचण्डसँग पनि अध्यादेशबारेमा छलफल गरेका थिए। प्रचण्डले अध्यादेश फिर्ता लिनुको विकल्प नभएका बताएका थिए। बालुवाटारमा भएको प्रचणसँगको भेटमा प्रधानमन्त्रीले पनि अध्यादेश फिर्ता लिन आफू तयार रहेको बताएको एक मन्त्रीले बताए।

स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अध्यादेश खारेज गर्ने सम्भावना छ। संविधानको धारा ११४ को १ ख मा अध्यादेश राष्ट्रपतिबाट जुनसुकैबेला खारेज हुनसक्ने प्रावधान छ। प्रचण्डले स्थायी समितिका सदस्यहरूको धारणा अनुसार बैठक बोलाउन समेत प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

सरकारले सोमबार ‘राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी’ अध्यादेश आएका ल्याएको थियो। राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेशमा ४० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी फुटाउन सक्ने व्यवस्था सरकारले गरेको थियो। त्यस्तै संवैधानिक परिषदमा बहुमतले निर्णय लिन सक्ने प्रावधान सहितको अर्को अध्यादेश समेत जारी गरेको थियो।

प्रधानमन्त्री ओलीले बुधबार पार्टीका सांसदहरुसँग आवश्यक परे अध्यादेशमा परिमार्जन र थप संशोधन गर्न सकिने आश्वासन दिएका थिए। यता अध्यादेश जारी भएपछि समाजवादी पार्टी फुटको संघारमा पुगेको थियो। फुटलाई रोक्न रातारात समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकताको समझदारी भयो। आज निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन समेत दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *