५६ चिकित्सककाे अनुराेधः घरमा जे छ त्यही खाऔँ, कोरोनाविरुद्ध एकजुट हौँ (भिडियाेसहित)
काठमाडौं । आज (बिहीबार) बिहानसम्मको तथ्यांक हेर्ने हो भने कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर १ लाख ८४ हजार १८२ पुगेको छ ।
२६ लाख ३६ हजार ९३३ जना संक्रमित भएका छन् भने ७ लाख बढी उपचारपछि निको भएका छन् । गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ६ हजार ७ सय २५ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा २४ सय भन्दा बढीको मृत्यु भएको छ, २४ घण्टाभित्र नै । त्यहाँ अहिलेसम्म ४७ हजार ६५९ जनाले ज्यान गुमाएका छन् कोरोना संक्रमणबाट ।
छिमेकी मुलुक भारतमा बुधबार एकै दिन १४ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या २० हजार भन्दा बढी पुगेको छ भने ज्यान गुमाउनेको कुल संख्या ६८१ पुगेको छ।
नेपालकै कुरा गर्ने हो भने हालसम्म ४५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । मृतकको संख्या भने शून्य नै छ । कोरोनाको उपचार तथा औषधि पत्ता नलागेका कारण यसको जोखिम न्युनिकरण गर्न मुलुक लकडाउन गरिएको छ ।
विश्वभरका चिकित्सकहरुले कोरोना लाग्न नदिन विभिन्न उपायहरु सुझाइरहेका छन् । साबुन पानीले हात धुने, दुरी कायम गर्ने, मास्क लगाउने, सकेसम्म तातोपानी पिउने…लगायत । नेपालका चिकित्सकहरुले पनि सक्दो चेतना फैलाइरहेका छन् नागरिकलाई, कोरोना संक्रमित हुन नदिन र भएकालाई बचाउन ।
यस्तैमा नेपालका ५० बढी चिकित्सकहरुले आ–आफ्नो धारणा सार्वजनिक गरेका छन्, नागरिकमा चेतना जगाउनका लागि । कोभिड १९ विरुद्धको लडाईँमा एकजुट हुन उनीहरुले अनुरोध गरेका छन् ।
डाक्टर सरल शर्मा– भाइरस आफैँ फैलिने होइन, यो त तपाईँ हामीले एकले अर्कोलाई सारिरहेका छौँ । त्यसैले यो महामारीविरुद्धको लडाईंको अग्रमोर्चामा तपाईँ–हामी नै छौँ ।
डाक्टर अशोक श्रेष्ठ– घरमा बसेको समयलाई निराशावान भन्दा ऊर्जावान बनाउने कोशिस गर्नुहोस् ।
डाक्टर त्रिसाला गुरु– चिटिङ नगरौँ । यो राजनीतिक दलहरुको जस्तो बन्द होइन, जुन ५ बजेपछि खुल्छ । कृपया ५ बजेपछि पनि आफ्नै घरमा बसिदिनुहोला ।
डाक्टर हेम सागर रिमाल– कुनैपनि लक्षण छैन भन्दैमा छरछिमेकी र आफन्तहरुकोमा नजाऔँ । किनभने कोभिड १९ को संक्रमणपछि लक्षण देखा पर्न एकदेखि दुईहप्ता लाग्न सक्छ ।
डाक्टर दिक्षा बोहरा–मेरो टोलछिमेकमा फैलिएको छैन भन्दैमा ढुक्क भएर जमघट नगरौँ । त्यसैगरी एकै ठाउँमा जम्मा भएर तास खेल्ने, लुडो खेल्ने, क्यारेम खेल्ने काम पनि नगरौँ ।
डाक्टर प्रज्वल रिजाल– अर्को सिरियस इस्यु भनेको बाहिरबाट खाना मगाउने हो । किनभने विभिन्न सतहहरुमा कोरोना भाइरस केही घण्टादेखि केही दिनसम्म रहने गर्दछ । त्यसकारण सकेसम्म रेष्टुरेन्टबाट डेलिभरी नगरौँ ।
डाक्टर श्रेया श्रेष्ठ– घरमा जे छ त्यही पकाएर खाने गरौँ । सुविधाका लागि आफ्नो र अरुको ज्यान जोखिममा नहालौँ ।
डाक्टर कनक खनाल– नेपालभरीका अस्पतालमा ३० हजार क्वारेन्टाइन वेड मात्रै उपलब्ध छ र भेन्टिलेटरको संख्या ६ सय मात्रै । विज्ञहरुका अनुसार प्रत्येक १ लाख १४ हजार मानिसमा एउटा मात्रै भेन्टिलेटर उपलब्ध देखिएको छ ।
डाक्टर ज्योति झा– हामी नेपाली धुलोमैलो हुर्किएको, स्वस्थ खाना खाएको र विभिन्न खोप लगाएको हुनाले हाम्रो रोगसँग लड्ने क्षमता विदेशीहरुको भन्दा बलियो छ भन्ने भ्रममा नपरौँ ।
डाक्टर आनन्द उज्जवल सिंह: दिर्घरोगी र बुढापाकालाई मात्रै यो रोगले समाउँछ भन्ने कुरालाई नेपालमै रहेको कोरोना रोगीहरुको तथ्यांकले नै गलत सावित गरिसकेको छ । भर्खरै भेटिएका केसहरुमा धेरैजसो २० देखि ४० वर्ष उमेर समुहका छन् ।