भारतमा काेराेना संक्रमितको संख्या २१ हजार नाघ्यो, ६८१ जनाकाे मृत्यु
काठमाडौं । गएको २४ घन्टायता भारतमा एक हजार ४०९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बिहीबार जनाइएको छ ।
बिहीबार बिहानको तथ्यांक अनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २१ हजार ३९३ जना पुगेको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४१ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ६८१ पुगेको छ ।
भारतमा देखिएका यी संक्रमितहरूमध्ये ४ हजार २५७ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार हाल यहाँ १६ हजार ४५४ कोरोनाका संक्रमित बिरामी अस्पतालमा उपचाररत रहेका छन् ।
शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बुधबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ ।
महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ५ हजार ६५२ जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा २६९ जनाको निधन भएको छ ।
महाराष्ट्रपछि दिल्ली र गुजरातमा यस भाइरसको संक्रमण उच्च मात्रमा देखिएको छ । कल्याण मन्त्रालयले आज दिएको जानकारी अनुसार दिल्लीमा २ हजार २४८ र गुजरातमा २ हजार ४०७ मा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ ।
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेकाे २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए । एजेन्सी