लोकतन्त्र दिवसः कागलाई वेल पाक्यो हर्ष न विस्मात्
आज लोकतन्त्र अर्थात जनताले आफ्नो गुमेको अधिकार फिर्ता पाएको दिन । तत्कालिन राजा ज्ञानेन्द्रले ०५८ सालमा ‘कू’मार्फत मुलुकको शासन ब्यवस्था हातमा लिएर जनताको मौलिक अधिकार हनन गरेका थिए । त्यसको पाँच वर्षपछि शाही ‘कू’ का विरुद्ध १९ दिने जनान्दोलन मार्फत लोकतन्त्र फिर्ता ल्याइएको दिन हो आज । जनान्दोलन ०६२/०६३ को नामले परिभाषित लोकतान्त्रिक आन्दोलनले राजा ज्ञानेन्द्रको शासन ब्यवस्थालाई मात्र हैन कि २ सय ४० वर्षदेखिको राजतन्त्रात्मक शासन ब्यवस्थालाई पनि नामेट पारिदिएको थियो । तसर्थ, बैशाख ११ गतेलाई हामीले एकात्मक शासन सत्ताको अन्त्य र गणतन्त्रतात्मक शासन ब्यवस्थाको खुड्किलोका रुपमा लिन सक्छौं । तर, त्यसपछि मुलुकमा घटेका राजनीतिक घटना परिघटनाले लोकतन्त्रको सुन्दरतालाई उजिल्याउने भन्दा धमिल्याउने काम गरिदिएको छ । जनतामा आशाभन्दा निराशा छाएका छन् ।
२०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा घटेको अकल्पनीय हत्याकाण्डमा स्वर्गिय राजा विरेन्द्रको वंश नाश भएपछि राजसंस्थाको उत्तराधिकारीका रुपमा महेन्द्रका माइला छोरा ज्ञानेन्द्र राजगद्दिको उत्तराधिकारी भए । राजा विरेन्द्रको बंश नाश कसले र किन गर्यो इतिहासको गर्भमै छ । यसअघि पनि नेपाली राजनीतिमा यस्ता घटना पटक–पटक भइरहेकाले बंश नाशै हुनेगरी भएको दरबार हत्याकाण्ड पनि त्यसैको निरन्तरता ठानियो । जसको कतैबाट गहन अनुसन्धान र विष्लेषण भएन । नेपाल एकीकरणसँगै २ सय ४ वर्षे राणा शासन, पञ्चायती शासन ब्यवस्था हुँदै २०४६ सालपछिको बहुदलिय ब्यवस्थासम्म आइपुग्दा यस्ता धेरै हत्याकाण्डहरु छन् जो इतिहासको गर्भमै सिमित छन् । तथापि, २०५२ सालदेखि मुलुकमा जारी माओवादी शशष्त्र द्वन्द्वको समापन र निरंकुश शासन ब्यवस्थाको अन्त्यमा २०५८ साल जेठ १९ गते घटेको दरबार हत्याकाण्डको भूमिका प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएको छ ।
तत्कालिन माओवादीले चलाएको शशष्त्र द्वन्द्वले राजसंस्थाको अन्त्य, संविधानसभा मार्फत संघिय गणतन्त्र र नयाँ संविधानको परिकल्पना गरेको थियो । जनताका नजरमा लोकप्रिय राजा विरेन्द्रलाई उनकै शासनकालमा सत्ताच्यूत गर्न माओवादीको जनयुद्ध मात्र काफी थिएन । जनताका नजरमा राजा विरेन्द्र एक उदारवादी राजा थिए । गाउँमा माओवादीले जनसरकार चलाएपनि राजधानी कब्जा गर्न नसकिरहेको अवस्थामा अप्रत्यासित तवरले विरेन्द्रको बंश नाशै हुनेगरी दरबार हत्याकाण्ड भएपछि ‘राजाको छोरा राजा नै हुन्छ’ भन्दै मुलुकको शासन ब्यवस्था हातमा लिएका ज्ञानेन्द्रले संसद विघटन गर्दै दलहरुमाथि प्रतिबन्ध लगाए ।
जनताका मौलिक अधिकारमाथि अंकूश लगाएर मुलुकको शासनसत्ता हातमा लिएका ज्ञानेन्द्र र राजसंस्था प्रति जनतामा वितृष्णा पैदा भइदियो र, विरेन्द्रको बंश हत्यामा ज्ञानेन्द्र र छोरा पारसकै हात रहेको भन्दै जनताले स्वतःस्फुर्त नारा लगाए । त्योसँगै शशष्त्र विद्रोहमा शाही नेपाली सेनाका ब्यारेक आक्रमण गर्न थालेको माओवादीले पनि राजसंस्था प्रति कठोर बन्दै गयो । यता राजाबाटै गलहत्याएर रत्नपार्कमा बदाम छोडाउँदै बसेका दलहरु निरंकुशता विरुद्ध ठोस आन्दोलन गर्न सकिरहेका थिएनन् । जनताबाट विस्वास गुमाएका उनीहरु माओवादीसँग हातेमालो गर्न सकिरहेका थिएनन् भने, राजालाई खुल्ला च्यालेञ्ज गर्नपनि सकिरहेका थिएनन् । ‘गोरखाका राजाबाट अन्याय हुँदैन’ भन्दै नारायणहिटीमा दाम चढाउने तत्कालिन नेताहरु अझै जिउँदैछन् जसले माओवादीलाई भन्दा बढ्ता दरबारलाई विस्वास गरेका थिए । तर, उनीहरुलाई राजा ज्ञानेन्द्रले पत्याइदिएनन् ।
राजा ज्ञानेन्द्र दलहरुप्रति अझै कठोर बन्दा माओवादीपनि संसदीय ब्यवस्थालाई मानेर राजतन्त्रकै समुल नष्ट पार्ने अभियानमा आयो । त्यसपछि दलहरु र माओवादी विच १२ बुँदे सहमति हुँदै जनान्दोलन ०६२/०६३ को शुरुवात भएको हो र, जनान्दोलनमा दुई दर्जन शहीदको बलिदानी पश्चात राजा ज्ञानेन्द्रले जनताको नासो जनताकै हातमा सुम्पिएको भन्दै प्रतिनिधिसभा पुर्नस्थापना गरेको इतिहासको महत्वपूर्ण दिन हो २०६३ बैशाख ११ ।
मुलुकमा त्यसपछि जे जे घटनाहरु घटे, जेजे परीवर्तनहरु भए तीनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जनान्दोलन ०६२/०६३ को महत्वपूर्ण योगदान छ । यदी त्यो बेला १९ दिने जनान्दोलन नहुँदो होत अथवा दलीय सहमति र सहकार्य नहुँदो होत अहिले संघिय लोकतान्त्रिक पद्दतिमा हामी आइपुग्ने थिएनौं । त्यस कारण लोकतन्त्र दिवसको आफ्नै महत्व र गरिमा छ ।
लोकतन्त्रले १४ वर्ष पुरा गर्दैगर्दा लोकतान्त्रिक राज्य व्यवस्थाले हामी नागरीकका जनजिवनमा कत्तिको प्रभाव पार्यो अथवा हामीले लोकतन्त्रका १४ वर्षमा केके उपलब्धी हासिल गर्यौं मनन गर्न आवश्यक छ । लोकतन्त्रका एक दशक हामीले आशा र निराशा दुवै भोगेका छौं । आशातित कुरा गर्दा २ सय ४० वर्षे राजतन्त्रन्त्रात्मक शासन ब्यवस्था हटायौं । मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्यौं । साथमा दुई–दुई पटक गरिएको संविधानसभा निर्वाचनबाट जनताको हातद्वारा लेखिएको संविधान निर्माण गर्यौं । मुलुकलाई संघिय शासन प्रणालीमा लैजानु, सिंहदरबारमा निहित अधिकारलाई जनताकै घरदैलोमा पुर्याउन सक्नु लोकतन्त्रका सुन्दर पक्ष हुन् । यसका अलावा १० वर्षदेखि मुलुकमा जारी शशष्त्र द्वन्द्वलाई शान्तिपूर्ण प्रक्रिया मार्फत अन्त्य गर्यौं । हिँसाको राजनीति अन्त्य भयो भने, मुलुकका सबै वर्ग क्षेत्र र समुदायका जनताले राजनीतिक अधिकार पाए । जनतामा राजनीतिक, सामाजिक, आर्थिक चेतपनि लोकतन्त्रले नै ल्याएको हो ।
तर, लोकतन्त्रले यो दियो त्यो दियो भन्दै गर्दा लोकतन्त्रसँगै आएका छाडातन्त्रलाई पनि विष्लेषण गर्नैपर्छ । जनताका चाहना र आवाजलाई मुखरित गर्दै शासन ब्यवस्था कायम गर्नु लोकतन्त्रको सिद्धान्त हो । तर, हामीले यो १४ वर्षमा लोकतन्त्रका नाममा यति धेरै ‘लूटतन्त्र’ मच्चायौं कि, १७ हजार जनताको बलिदानीबाट आएको लोकतन्त्र भन्दा १४ वर्षअघि सिंहदरबारमा कैद भएको ‘निरंकुशतन्त्र’ हजार गुणा ठिक रहेछ भन्ने अनुभूत भएको छ । लोकतन्त्रका नाममा दलहरुले भित्र्याएको ‘लूटतन्त्र’ले जनतालाई लोकतन्त्र ‘कागलाई वेल पाक्यो हर्ष न विस्मात्’ भएको छ ।
लोकतन्त्रले नेपाली जनताको जिवनस्तर उकास्ने कुनै आधार तयार गरेन । लोकतन्त्रले गरिब, विपन्न वर्ग, समुदाय र क्षेत्रकोलागि भ्रष्टाचार, कूशासन सिवाय केही दिएन । भन्ने बेलामा जनताका मौलिक अधिकार संस्थागत गर्दै गाउँगाउँमा सिंहदरबार पुर्याउने भनियो तर, ब्यवहारमा गाउँगाउँ पुगेका सिंहदरबारका प्रतिनिधिहरुले जनताका घरदैलोमा विकासको मुहान हैनकि राज्यको ढुकुटी विनास गर्ने अभियान मात्र पुर्याए । पहिलो संविधान लेखनका नाममा दुई–दुई पटक राज्यको ढुकुटी लुटिएको थियो । अहिले गाउँगाउँमा पुगेकाहरुले विकासका नाममा जनताले तिरेको करमा लूटतन्त्र मच्चाएका छन् । विकासका नाममा खर्चिएका बजेटले गाउँघरमा कागजी विकास मौलाउँदो छ । खोला नभएका ठाउँमा पुल हालिएको छ । कालोपत्रे नभएका बाटाघाटा रातो किताबमा चिल्ला भएका छन् । जनताका घरको छानो चुहिँदा तीनका सरकारी प्रतिनिधि बनेर सिंहदरबार ओहरदोहर गर्नेहरुको घर आँगन चिल्ला गाडी र मार्वलले टल्किँदा लोकतन्त्रको खिल्ली उडेको छ ।
पहिले सिंहदरबारमा एक जनाले गर्ने भ्रष्टाचार अहिले गाउँपालिका, नगरपालिका हुँदै प्रदेश सरकारमा समेत फैलिएको छ । जनता घरमा भोकभोकै मर्ने अवस्था आउँदा ती जनप्रतिनिधिहरु तीनै जनतालाई राहत बाँड्ने नाममा राज्यको ढुकुटी दिउसै लुटिरहेका छन् । चोरले पनि सात घर परबाट चोर्छ भनिन्थ्यो यहाँ त लोकतन्त्रका नाममा आफ्नै घर (मुलुक) भित्र दिउसै लुट्नेहरु भए । अब त लाख हैन सिधै करोड र अरबका लूटतन्त्र मच्चिइरहेका छन् । वाइडवडी काण्ड, ३३ किलो सुनकाण्ड, सेक्युटिरी काण्ड, कोरोना भाइरस काण्ड, ललिता निवास जग्गा काण्ड, निर्मला पन्त बलात्कार हत्याकाण्ड, सिक्टा काण्ड, यस्ता सयौं काण्डैकाण्डले लोकतन्त्रलाई ठोकतन्त्रमा परिणत गरीदिएको छ । लोकतन्त्रका नाममा फोस्रो सपना बाँडेर सत्तामा पुग्ने खेल वाहेक केहीको विकास भएन । संविधानमा लेखिएका अक्षरलाई ब्यवहारमा उतार्ने दृढता जबसम्म गर्न सकिँदैन तवसम्म लोकतन्त्र, प्रजातन्त्र, राजतन्त्र जुनै नामको ब्यवस्था आएपनि त्यसले केही लछारपाटो लगाउँदैन ।
हाम्रो राजनीतिक इतिहास हेरौं न, जसले पञ्चायत कालमा, बहुदलीय ब्यवस्था र लोकतन्त्रमा सत्ताको बागडोर चलाए उनीहरु अहिलेपनि सत्तामै छन्, ब्यवस्थासँगै विचार परिवर्तन गर्नेहरुले सोच र ब्यवहार चैं सामन्ती नै रहँदा जनताले दुखः पाएका हन् । जवसम्म पञ्चायत, बहुदल, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र भन्दै यस्तै लुटेराहरु सत्ताको वरीपरी रहिरहन्छन् तबसम्म मुलुक र जनताको विकास संभव छैन । लोकतन्त्र लोकतन्त्र भनेर झण्डा बोक्दै चिच्याउँदैमा अधिकार पाइदो रहेनछ अब ब्यवस्था मात्र हैन तीनका पात्र पनि परिवर्तन गर्न आवश्यक रहेछ भन्ने कुरा जबसम्म जनताले बुझ्दैनन् लोकतन्त्रका सुन्दर परिभाषाहरु कागजमै थन्किन्छन् । हामीले राजनीतिक, आर्थिक, सामाजिक अधिकार पाइसकेका छौं, बस त्यसलाई अक्षरसः कार्यान्वयन गर्ने पात्रको खाँचो छ । आशा गरौं, जसरी रातपछि दिन हुन्छ त्यसरी नै समयले त्यस्ता पात्रको जन्म होला ।
अहिलेलाई, किशोर हुँदै गएको लोकतन्त्रको सबैलाई शुभकामना ।