काेराेना संक्रमित बोक्दा गाउँलेबाट अपमानित भए एम्बुलेन्स चालक !
ध्रुवराज खनाल–चितवन । न उनी विदेशबाट आएका हुन् न त स्वदेशकै अन्य जिल्लाबाट । तर अहिले एम्बुलेन्ससहित चितवनको राप्ती नगरपालिकाको क्वारेन्टाइनमा बस्नु परेको छ ।
उनले चलाउने एम्बुलेन्समा कोरोना संक्रमित बोकेको भन्दै गाउँलेहरु त्रसित भएपछि गत शनिबारदेखि उनी क्वारेन्टाइनमा बस्नु परेको हो । उनले एम्बुलेन्समा राखेर लैजाँदा आरडिटी पोजेटिभ आएपनि स्वाब भने परिक्षण भइसकेको थिएन ।
बेलायतबाट आएका दुई जनामा र्यापिड टेष्ट पोजेटिभ आएपछि उनीहरुलाई भण्डाराको एम्बुलेन्समा राखेर भरतपुर अस्पताल पुर्याइयो । भरतपुर कोरोना प्रयोगशालामा जाँच गर्दा शंकास्पद देखिएपछि पूर्ण एकिन गर्न उनीहरुको स्वाब काठमाडौं लगियो । काठमाडौंमा कोरोना पोजेटिभको रिपोर्ट आयो । रिपोर्ट आउनु एकातिरको कुरो थियो । तर संक्रमितहरुलाई बोकेर लैजाँदा (नाम गोप्य राखिएको) चालकलाई नै कोरोना लागेको भनेर गाउँमा हल्ला फिजाईएको थियो ।
उनीहरु (संक्रमित) लाई लगेको दिन एम्बुलेन्सका चालक घर गए । त्यो रात घरमै काटे । भोलिपल्ट स्थानीयले ‘यसलाई पनि कोरोना लागेको छ’ भन्दै गाउँमा बस्नै दिएनन् । ‘संक्रमितहरुलाई अस्पताल लैजाँदा सुरक्षाका सामान लगाएको थिएँ, घर आउँदा गाउँलेबाट अपमानित हुनु पर्यो’, एम्बुलेन्स चालकले भने, ‘कोरोना लागेको छ भन्दै गाउँलेबाट तिरस्कृत हुनुपर्यो, अहिले नगरपालिकाले बनाएको क्वारेन्टाइनको वास भएको छ ।’
उनले गाउँलेबाट अपमानित भएको कुरा दोहोर्याउँदै भने, ‘मेयर सापले फोन गरेर बोलाउनु भयो । हामीले उनीहरुलाई भरतपुर लग्यौँ । भोलिपल्ट गाउँलेबाट अनेक कुरा आउन थाल्यो ।’
उनले एम्बुलेन्स चलाउन थालेको झण्डैँ ८ वर्ष जति भयो । यो अवधिमा अहिलेसम्म यस्तो व्यवहार नभएको उनले सुनाए । ति संक्रमितको घर देखाउन गएको अर्का एक जना पनि उनीसँगै क्वारेनटाइनमा छन् । उनीहरुको पिसिआर समेत नेगेटिभ आइसकेको छ ।
यता राप्ती नगरपालिका मेयर प्रभा बरालले एम्बुलेन्स चालकमाथि अपमान भएको स्वीकार गरिन् । तर ति चालकले त्यो दिन व्यक्तिगत सुरक्षा सामाग्री नलगाएको मेयर बरालले बताइन् ।
‘जताततै जानुपर्ने हुँदा जनप्रतिनिधिसँग त डराउने थालिसके । एम्बुलेन्स चालकमाथि त्यस्तो व्यहावर हुनु हुँदैन थियो । र उनले पनि सुरक्षा अपनाउनु पथ्र्यो’, मेयर बरालले भनिन् ।
.मेयर बरालका अनुसार नगरभित्र रहेका एम्बुलेन्सका चालकलाई नगरपालिकाले पिपिई दिएको छ । बेलायतबाट गत चैत ३ गते काठमाडौ र ५ गते चितवन आईपुगेका ति संक्रिमतहरुको अहिले भरतपुर अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ ।
दुई छोरासहित आएपनि एक छोरा र आमामा मात्र कोरोना भाईरस पोजेटिभ देखिएको हो । ति संक्रमितहरुको सम्र्पकमा रहेकाहरुको तथ्यांक करिब अन्त्य तिर पुगिसकेको छ । अहिलेसम्म ७९ जना सम्पर्कमा रहेको पाइएको र उनीहरुको आरडिटी नेगेटिभ आएको नगरपालिकाद्धारा गठित तथ्यांक संकलन समिति संयोजक पूर्ण आचार्यले बताए ।
उनीहरुसँग नजिक बसेका ९ जनाको पिसिआर पनि नेगेटिभ नै आएको छ । ति संक्रमितहरुमा भाईरस सार्ने क्षमता नरहनु खुशीको कुरा भएको मेयर बरालले सुनाइन् । उनीहरुले बाँडेको चकलेट खाएका, हात मिलाएका, सँगै खाजा खाएका, सवारी साधनमा आएका सबैको विवरण लिइएको छ ।