प्रधानमन्त्रीको ब्रिफिङः ‘प्रतिपक्षीले जेमा पनि भाग खोज्न थालेपछि अध्यादेश’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको बचाउ गर्दै प्रतिपक्षी दलले जेमा पनि भाग खोज्न थालेपछि दुवै अध्यादेश ल्याउनु परेको बताएका छन् ।

आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका कारण गर्नुपर्ने धेरै नियुक्ति रोकिएकाले अहिलेको अध्यादेश ल्याउनु परेको बताएका हुन् ।

बैठकमा प्रम ओलीले अध्यादेशबारे संक्षिप्त धारणा राख्दै हाललाई अध्यादेशबाट पछि हटेको बताएको एक मन्त्रीले बताए ।

‘प्रतिपक्षी दलले जेमा पनि भाग खोज्न थालेपछि अहिलेको अवस्था आएको हो । जेमा पनि भाग खोज्ने र नियुक्ति हुन नदिने भएपछि अध्यादेश ल्याउनु परेको हो’, प्रधानमन्त्रीले अध्यादेशबारे मन्त्रिपरिषद् बैठकमा भने । उनले प्रतिपक्षी दल र सत्ता पक्षकै नेताहरूले भनेकै कारण अध्यादेश फिर्ता लिएको पनि बताएका छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीकै प्रस्तावमा दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश पारित गरिएको थियो । उक्त निर्णयलगतै अध्यादेशको प्रतिपक्षी मात्रै नभइ पार्टीभित्रै पनि विरोध भएपछि प्रधानमन्त्री यसबाट पछि हटेका हुन् ।

साथै बैठकमा प्रधानमन्त्रीले लकडाउनसहितको विषयमा निर्णय गर्नका लागि एक दुई दिनमै बैठक बस्ने पनि जानकारी दिएका छन् । उनले सबै मन्त्रीहरुलाई कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणका विषयमा ध्यान केन्द्रित गर्न निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *