काठमाडौं हुँदै भोजपुर पुगेका थिए ४८ औं कोरोना संक्रमित
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४८ औं कोरोना संक्रमित काठमाडौं हुँदै भोजपुर पुगेको जानकारी दिएको छ ।
आज (शुक्रबार) को नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ४८ संक्रमित अर्थात् २६ वर्षीय पुरुष फागुन ३० गते साउदीबाट फर्किएको र काठमाडौंबाट उदयपुरमा केही दिन बसी भोजपुर गएको जानकारी दिए ।
ती युवकको हिजो धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परिक्षणमा पोजिटिभ देखिएको थियो । प्रवक्ता देवकोटाका अनुसार उनी हाल हतुवागढीमा चिकित्सकको निगरानीमा छन्, उनलाई विराटनगर ल्याइँदैछ ।
‘संक्रमित २६ वर्षीय युवक फागुन ३० मा साउदीबाट हिमालयन एयरमार्फत् नेपाल आएको जानकारी प्राप्त भएको छ । उनको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि नमुना संकलन भइसकेको छ ।’
ती युवकमा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ भने १० जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।