प्रेमिका बनाएर सामुहिक बलात्कार, प्रेमीसहित ४ जना पक्राउ, एक फरार

विराटनगर । एक किशोरीमाथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । मोरङको बुढीगंगा गाउँपालिकाकी १७ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेसँगै घटना सार्वजनिक भएको हो ।

सामूहिक बलात्कार भएको तीन महिनापछि घटनामा संलग्न ४ जना पक्राउ परेका हुन् भने अर्का एकजना फरार रहेको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बूढीगंगा–६ का २१ वर्षीय टंके भनिने कुमार राई, १९ वर्षीय सन्देश लिम्बू र दुई जना नाबालक रहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले जानकारी दिए । उनीहरुलाई बुधबार राति पक्राउ गरिएको हो । दुई नाबालकको नाम भने गोप्य राखिएको छ ।

प्रहरीका अनुसार ती किशोरीमाथि पाँच जना युवा मिलेर गत माघ १५ गते सामूहिक बलात्कार गरेका थिए । फरार भएका प्रतिवादीको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बलत्कारको घटना लामो समयसम्म गुपचुप रहेको थिए । बलात्कारमा संलग्नमध्ये एक युवा बुधबार साँझ किशोरीसँग झगडा गरिरहेको गाउँलेले देखेपछि घटना सार्वजनिक भएको हो । गाँउमा झगडा भएको कुरा गाँउलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रेमिका बनाएर ती किशोरीमाथि सामूहिक बलात्कार गरिएको घटना लगभग तीन महिनापछि बाहिरिएको प्रहरीले जानकारी दिएको छ ।

बलात्कारमा संलग्न रोशन मगर फरार रहेको र खोजी तीव्र पारिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भैरहवा घर भएका रोशन बूढीगंगास्थित ठूलीआमाको घरमा बस्दै आएका थिए ।

डीएसपी राईका अनुसार प्रेमको नाटक गर्दै किशोरीलाई प्रेमिका बनाउने काममा लक्ष्मण संलग्न रहेको पाइएको छ । लक्ष्मणले जरुरी काम परेको भन्दै घरदेखि तल रहेको फुटबल खेल्ने चउरमा भेट्न बोलाएपछि किशोरी पुगेकी थिईन् ।

लक्ष्मणसँगै चार जना साथीहरु मिलेर किशोरीलाई पालैपालो बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो घटनाको विषयमा कोही कसैलाई भनेमा हत्या गर्नेसम्मको धम्की दिइएका कारण डरले किशोरीले माघ १५ गते रातिको घटना भएपनि बाहिर ल्याउन नसकेको पाइएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

सामूहिक बलात्कारमा संलग्नविरुद्ध जबरजस्ती करणी मुद्धा चलाउन म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान अघि बढाइने मोरङ प्रहरी प्रवक्ता राईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *