चितवनमा २४ जनाकै रिपोर्ट नेगेटिभ
चितवन । चितवनको कोरोना प्रयोगशालामा शुक्रबार गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यहाँ २४ वटा नमुना परीक्षण गरिएको थियो ।
भरतपुर अस्पतालबाट ५, कोरोना अस्पतालबाट ९, गुञ्नमान सिंह अस्पताल रत्ननगरबाट ६ र चितवन मेडिकल कलेजबाट ४ वटा नमूना परीक्षण गरिएको थियो । ती सबैको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।
जसमध्ये कोरोना पोजेटिभ देखिएका चितवन राप्ती ८ का एक युवकको शुक्रबार रिपोर्ट नेगेटिभ आएको छ । उनको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए । उनको आमाको रिपोर्ट भने दोस्रो पटक पनि पोजेटिभ आइसकेको छ ।
कोरोना संक्रमित आमा छोरा हाल भरतपुर अस्पतालको आइसोलेसनमा छन् । पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएका छोरालाई भने भोलि डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
चैत ३ गते बेलायतबाट नेपाल आएका उनिहरुमा र्यापिट टेस्ट पोजेटिभ देखिए पछि कोरोनाको परिक्षण गरिएको थियो । जसमा दुबै जनामा कोरोना पोजेटिभ देखिएको थियो ।