टेमासेकले नेपाललाई दियो दश हजार फर्टिट्यूड किट २.०
काठमाडौं । सिंगापूर लगानीकर्ता कम्पनी अन्तर्गत एक परोपकारी संस्था टेमासेक फाउन्डेशनले नेपाललाई १० हजार फर्टिट्यूड किट २.० प्रदान गरेको छ । उक्त किटहरु नेपाली सेनालाई प्रदान गरिएको थियो । यि किट फ्रन्टलाइन स्वास्थकर्मीद्वारा देशभरका कोभिड—१९ का बिरामीहरुको परीक्षणका लागि प्रयोग गरिनेछन् ।
फर्टिट्यूड किट २.० विज्ञान, प्रविधि तथा अनुसन्धानका लागि सिंगापूरको एजेन्सी (A*START) द्वारा एसएआरएस कोभिड—२ भाइरस पत्ता लगाउनका लागि डिजाइन गरिएको हो । यो एसएआरएस कोभिड—२ भाइरस पत्ता लगाउनका लागि “अल इन वान” १ चरण आरटी—पीसीआर किट हो । यो किटमा आरटी—पीसी रियाक्शनका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु प्रइमर प्रोब मिक्स, इन्जाइम मिक्स, पोजेटिभ कन्ट्रोल, नेगेटिभ कन्ट्रोल र इन्टरनल कन्ट्रोल टेमप्लेट सहित आउँछ ।
टेमासेक फाउन्डेशन इन्टरनेशनलका प्रमुख कार्यकारी निर्देशक बेन्डिक्ट चियोङले भने, “यो कठिन समयमा, टेमासेक फाउन्डेशन नेपालका हाम्रा साथीहरुसँग एकतावद्ध छ । हामी आशा गर्दछौं कि यी किटहरु नेपालमा साहसपूर्वक कोभिड—१९ का अवस्थाहरुलाई व्यवस्थापन गरिरहेका अस्पताल र चिकित्सकहरुलाई उपयोगी हुनेछ । हामी हाम्रो निरन्तर सहकार्यलाई कायम गर्दै एकअर्कासँग र अन्तर्राष्ट्रिय समुदायहरुसँग कार्य जारी राख्नेछौं ।”
टेमासेक फाउन्डेशनले नेपाल सरकारको सीसीएमसी, स्वास्थ मन्त्रालय, नागरिक समाजका सदस्यहरु डा. बिजेन्द्र बराल, रञ्जित आचार्य र निल पाण्डेलाई समन्वयन प्रयासका लागि आभार व्यक्त गरेको छ । यो सामान ल्याउन श्री एयरलाइन्स र निजि क्षेत्रका दुई उदार व्यक्ति पशुपति मुराकर र शेखर गोल्छाले सिंगापूरबाट प्लाइट चार्टर्ड गरेका थिए ।