लगातार तीन पटक आरडिटी टेस्टमा पोजिटिभ देखिएकी युवतीको मृत्यु
वीरगञ्ज । लगातार तीन पटकको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षणमा पोजिटिभ देखिएकी वीरगञ्जकी एक युवतीको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षीया ती युवती ब्लड क्यान्सर पीडित थिइन् । उनको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो ।
एक महिना पहिले मात्रै क्यान्सर अस्पतालबाट फर्किएकी उनको आज (आइतबार) बिहान मृत्यु भएको हो । उनको शव अहिले नारायणी अस्पतालमै राखिएको छ। मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा पठाइएको जानकारी दिइएको छ । रिपाेर्ट आउन बाँकी छ ।
शनिबार बिहान उनको स्वास्थ्यमा समस्या आएपछि परिवारले तराई हस्पिटल एण्ड रिसर्च सेन्टर लगेको थियो । त्यहाँ लगातार रिपोर्ट पोजिटिभ आयो । शनिबार राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको आरडिटी टेष्ट गर्यो ।
तेश्रो पटकको टेष्ट रिपोर्ट पनि पोजिटिभ नै आएपछि युवतीलाई आइतबार बिहान १ बजेतिर तराइ हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । युवतीकाे मृत्यु भएपछि परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा बस्न सुरक्षा निकायले आग्रह गरेकाे छ ।