लकडाउनको ३३औँ दिन : बढ्न थाल्यो आमनागरिकको चहलपहल

सुजाता निङ्लेकु

विराटनगर । लकडाउनको ३३औँ दिनमा विराटनगरको चहलपहल बढेको छ । लकडाउनले देशभरको जनजीवन ठप्प रहेको अवस्थामा विराटनगरमा भने आमनागरिकको भिड बढेको देखिन्छ ।

सब्जी, खाद्यन्न, औषधी पसल बैंक लगायतका क्षेत्रहरुमा मानिसकको भिड बढ्न थालेको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरेर सरकारले लकडाउनको घोषणा गरेको ३३औँ दिन वितिसक्दा आफूसँग भएको पैसा सकिएर बैंक आएको एनआईसी एसिया बैंक परिसरमा भेटिएका युवा नेता कुशेश्वर राजवंशीले बताए ।

बैंकले तोकिदिएको नियम अनुसार अर्थात टोकन सिस्टम पालोको पर्खाइमा रहेको उनले सुनाए । बिहान ११ बजे देखि बैंकमा कुन बेला पालो आउने भन्ने पर्खाईमा रहेको उनले बताए ।

उनले भने, ‘म सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्दै साथै सामाजिक दुरी कायम राखेर नै पैसा निकाल्न पालो कुरेर बसेको छु ।’ उनी बैंक परिसर र मानिसको भिड भन्दा केहि दुरी राखेर नै पालो कुरेर बसेका थिए भने कतिपय सेवाग्राहीहरुलाई बैंकको कर्मचारीले दुरी कायम राख्न आग्रह गर्दा समेत वेवास्ता गरेको देखिन्थ्यो ।

७६ वर्षिय साने महतोले विराटनगर १२ बर्खीदेखि साईकल पेल्दै वृद्ध भत्ताका लागि बैंक आएको बताए । उनी पालो कुरेर बैंकको बन्द गेट र पाले दाईको अनुहार तर्फ फर्किएर बसिरहेका थिए । ‘११ बजेदेखि बसेको पालो आएन, नाम बोलाउला की भन्यो तर नाम नै बोलाउँदैन’, उनले भने ।

उनलाई कोरोना सम्बन्धी थोरै ज्ञान छ । त्यो पनि नातीले सुनाएर । मास्क लगाउँदा निसाए झैँ लाग्ने गरेरको उनले सुनाए, उनी भन्छन्,‘पहिले हाम्रो बेलामा यस्तो थिएन् कहाँबाट बानी हुन्छ’, आफुले लगाएको गाम्छाले मुख छोप्दै उनले भने ।

महतो जस्तै वृद्धा भत्ता लिन बैंक आएका विराटनगर १२ का ७४ वर्षिय राजु रायको पनि पर्खाइ लगभग उस्तै छ । उनी पनि बिहानको ११ बजे देखि बैंकको प्रवेश गेट अगाडी पालाो कुरेर बसिरहेका थिए । लकडाउनको कारण घरमा काम गर्नेहरुको काम रोकिएसँगै घर खर्चमा सघाउ पुग्छ की भन्नेर भत्ता लिन आएको बताए । उनी पनि हातमा टोकन लिएर पालो कुरेर बसिरहेका थिए ।

बैंक क्षेत्रमा देखिएन सामाजिक दुरी
कोरोना भाइरस संक्रमणबाट बच्नका लागि सबैक्षेत्रमा सामाजिक दुरी कायम राख्नपर्ने नियम लगाएको भएपनि बैंक क्षेत्रमा खासै दुरी कायम राखिएको पाइएन ।

बैंक अतिआवश्यक काम भएकाले ११ बजे देखि १ बजेसम्मको समय दिएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक वेदप्रसाद गौतमले बताए । अधिकांश बैंकमा आउने सेवाग्राहीहरुको चेकको कारोबार हुने साथै मोटरसाईकलमा आउने र अधिकांश कर्पोरेटर हाउस अर्थात बैंकमा पार्किङ नभएकाले पनि भिडभाड देखिएको डिएसपी गौतमको भनाई छ ।

उनका अनुसार प्रत्येक म्यानेजरहरुसँग समन्वय गरेर सामाजिक दुरी राखेर सेवाग्राहीहरुलाई सेवा दिन आग्रह गरिएको छ ।

उनले भने, ‘आज प्रत्येक बैंकमा अनुगमन गर्दै बैंक म्यानेजरलाई दुरी कायम राखेर सेवाग्राहीलाई सेवा दिन आग्रह गरेको छौँ ।’ भिभाडलाई नियन्त्रण गर्नका लागि ११ बजे देखि १ बजेसम्मको समयलाई एक घण्टा बढाएर काम गर्न भनिएको डिएसपी गौतमले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *