लकडाउनले क्षति व्यहाेरेका किसानको कथाः यसपाली तरकारी खेतीले डुबायो

ध्रुवराज खनाल– चितवन । लहलाउँदो तरकारी खेतीको फाँट, थांक्रामा तछाडमछाड गरेर फलेका छन् घिरौला र गोलभेडा । बोट पनि लोभ लाग्दो छ । ति उत्पादनले बजार पाएको भए राम्रो आम्दानी हुने उनको आशा थियो ।

कसैले तरकारी उठाउला भनेर उनी मोबाईल सम्र्पकमा व्यस्त थिए । आईतबार पनि उनले तीन जना व्यापारीलाई फोन दबाए । तर सबैले अहिले आवश्यक छैन भन्ने जवाफ दिए । उनीमा निराशा छायो ।

यो व्यथा हो, २२ विगाहा जग्गामा तरकारी खेती गर्दै आएका खैरहनी नगरपालिका २ का किसान घनश्याम दासको । उनले विगत १४ वर्षदेखी श्री गणेश कृषि फर्म नेपाल प्रालि दर्ता गरेर ठुलो मात्रामा तरकारी खेती गर्दै आएका छन् ।

लकडाउनको समय लगातार लम्बिदा उनले लगाएको तरकारी बारीमै सडिरहेको छ । लकडाउन जारी रहँदा हालै आएको हावाहुरी र असिनापानीले समेत बालीमा असर पुर्याएको छ । ‘लगातारको लकडाउनले उत्पादित तरकारी बारीमै नष्ट हुदैछ । अघिल्ला वर्ष लगेका व्यापारीहरुले समेत यो अवस्थामा लैजान नसक्ने जवाफ दिए’, किसान दासले भने ।

आइतबार पनि तरकारी बिक्रीका लागि दौडधुपमै व्यस्त रहेको उनले सुनाए । उनको उत्पादनको मुख्य बजार नारायणगढ, काठमाडौ र पोखरा हो । उनले पाँच विगाहामा पाटे घिरौला, तीन विगाहामा घिरौला, दश विगाहामा गोलभेडा र तीन विगाहामा लौका खेती गरेका छन् ।

झण्डै एक विगाहा जमिन खाली छ । खाली जग्गामा मेवा लगाउने उनको तयारी छ । उनले सबै जग्गा लिजमा लिएका हुन् । खेती गरिएको मध्ये पाटे घिरौला बोटमै छिप्पिन थालेको छ । बजार नपाउँदा टिपेर फाल्न कामदार व्यस्त छन् । दश विगाहा मध्ये झण्डै दुई विगाहाको गोलभेडा राताम्मे भएर बोटबाट झर्ने अवस्थामा छ ।

‘करिब ४ वोलेरो जति पाटे घिरौला स्थानीयले खेतमै आएर लगे’, किसान दासले भने, ‘बाँकी रहेका छिप्पिएर सड्दा रोग देखिन हुँदा टिप्दै थुपार्न व्यस्त छौँ ।’ उनले बाह्रै महिना तरकारी खेती गर्छन् । सिजन अनुसार उत्पादन गरिँदै आएको छ ।

अघिल्ला वर्षहरुमा लाखौँ रुपैयाँ मुनाफा आर्जन गर्दै आएका दास अहिले भने कामदारलाई तलब दिन ऋण खोज्नुपर्ने अवस्थामा पुगेका छन् । उनको फर्ममा ३५ जना कामदार कार्यरत छन् ।

‘उत्पादित तरकारी बजार पाउन नसक्दा कामदारलाई समेत तलब दिन मुस्किल छ । कामदार नै खटाएर उल्टो तरकारी फाल्ने मात्र काम भएको छ’, उनले गुनासो पोखे ।

अघिल्लो वर्ष उनको फर्मबाट पाटे घिरौला प्रतिकिलो ८० रुपैयाँसम्म, घिरौला प्रतिकिलो १२० रुपैयाँसम्म, गोलभेडा प्रतिकिलो ८० रुपैयाँसम्ममा बिक्री भएको थियो । अघिल्लो वर्षको आम्दानी सम्झिदै उनी भन्छन्– ‘अघिल्ला वर्षहरुमा ३५ लाख रुपैयाँसम्म मुनाफा भएको थियो । यसपालि तरकारी खेतीले डुबायो ।’

कोरोना भाईरसपछिको लकडाउनका कारण यो सिजनमा झण्डै १ करोड देखी डेढ करोड सम्मको नोक्सानी हुने किसान दासले गुनासो पोख्दै सुनाए । थोपा सिंचाई प्रविधिबाट खेती गरिएको हुँदा तरकारी खेतीमा उनको ठुलो लगानी छ ।

६ विगाहा जमिनमा थोपा सिंचाईको प्रयोग छ । पाटे घिरौला र घिरौलालाई थांक्रो समेत हाल्नु पर्दा लागत बढेको छ । दुई वर्ष टिकाउन हुने जालीसहितको थांक्रो निर्माणका लागि जालीको तार र ज्याला मात्रै झण्डै ३ लाख रुपैयाँ लागेको दासले बताए । उनले स्थानीय ८ जना जनासँग छुट्टाछुट्टै स्थानमा जग्गा लिजमा लिएर खेती गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *