‘नेकपा दुई पाइलटले हाँकेको जेट हो, विवाद देखिँदैमा आत्तिनु पर्दैन’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीमा देखिएका विवाद संस्थागत रूपमा समाधान हुने बताएका छन्। पार्टीको बैठकबाट अहिले सतहमा आएका विवादको समाधान हुने विश्वास उनले लिएका छन्।

उनले बैठकबारे थप जानकारी भने उल्लेख गरेका छैनन्। रिजाल नेकपाका वरिष्ठ नेता माधव नेपाल समूह निकट मानिन्छन्। आइतबार साँझ कोटेश्वरमा माधव नेपाल समूहको छुट्टै गोप्य बैठक बसेको थियो। बैठकमा सहभागी नेताहरूले पार्टीमा देखिएका विवादबारे स्थायी कमिटीको बैठकमा छलफल गरी समाधान खोज्नु पर्ने सुझाव नेपाललाई दिएका थिए।

पार्टी स्थायी कमिटीको करिब बहुमत सदस्यहरूले स्थायी कमिटीको बैठक बोलाउन माग गरेका छन्। तर प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल स्थायी कमिटी बैठक बोलाउने पक्षमा नदेखिएको नेकपा नेताहरू बताउँछन्। यस्तो अवस्थामा नेता रिजालले सामाजिक सञ्जाल ट्विटरमा पछिल्लो समय पार्टीमा देखिएका समस्याहरूको समाधान बैठकबाट खोज्नु पर्ने टिप्पणी गरेका हुन्।

नेकपा दुई पाइलटले हाँकेको जेट भएकोले पार्टीमा केही विवाद देखिए आत्तिइहाल्नु पर्ने अवस्था नरहेको उनले बताए। ‘नेकपा टेम्पो–ट्रयाक्टर होइन, दुई पाइलटले हाँकेको जेट हो। हावाको चाप तीव्र हुँदा वा बादलमा पस्दा अलि अलि हल्लिँदैमा आत्तिनु पर्दैन। घाम पानी झेलेका, पार्टी र देशको नेतृत्वको अनुभव भएका नेताहरूको कमी छैन। जति समस्या देखिएका छन्, संस्थागत रूपमा एउटै थलो (बैठक) मा बस्नासाथ समाधान हुन्छन्,’ उनले ट्विटरमा लेखेका छन्।

अध्यादेश प्रकरणले सत्तारुढ दल नेकपाको आन्तरिक विवाद सतहमा ल्याइदिएको छ। नेकपामा हाल मुख्य नेताहरूबीच चुलिँदो शक्ति संघर्षले अविश्वास र दुरी बढाउँदै लगेको छ। भावी कदम र अबका रणनीतिमा केन्द्रित रहेर आ-आफ्नो समूहमा छलफल र परामर्श गरिरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमा पार्टीका अन्य नेताहरूले असन्तुष्टि जनाएका छन्। पार्टी भित्रको विवादलाई लिएर नेकपाका नेताहरू सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन्। नेकपाका केही प्रभावशाली नेताहरूले पार्टी शीर्ष तहमा देखिएको टकराव र ध्रुवीकरणलाई सामान्यीकरण गर्न प्रयत्न गरिरहेका छन्।

पार्टी एकतालाई बलियो र विश्वासको वातावरण तयार गर्न मिलेर जानुको विकल्प नरहेको नेताहरूको जोड छ। पार्टी शीर्ष तहमा देखिएको टकराव र दुरीले पार्टी एकता दुर्घटनामा पर्न सक्नेतर्फ सचेत गराइ रहेका छन्। एकता दुर्घटनामा पर्नु कम्युनिस्ट आन्दोलनकै लागि दुर्भाग्य हुने भन्दै कमी–कमजोरी सच्याउन बाक्लो संवादमार्फत हल गर्न नेतृत्वलाई सुझाव दिइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *