स्वास्थ्य मन्त्रालय भन्छ– यी तीन कुराले लकडाउन खोल्ने या नखोल्ने निर्धारण गर्छ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन कुराले लकडाउन खोल्ने या नखोल्ने निर्धारण गर्ने जनाएको छ ।
आज (सोमबार) को नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले तीन कुराले लकडाउन निर्धारण गर्ने बताएका हुन् । उनका अनुसार संक्रमितको संख्या, परीक्षण र संक्रमण फैलने अवस्थाले लकडाउन खुकुलो बनाउने, खोल्ने या जारी राख्ने निर्धारण गर्छ ।
नेपालमा माघ ९ गते पहिलो केस सँगसँगै करिब दुई महिनापछि दोस्रो केस पुष्टि भएको थियो । त्यसपछि फाट्फुट रुपमा दखिदै वैशाख लाग्दै गर्दा संक्रमितको संख्यामा वृद्धि भएको छ । हिजोमात्रै थप ३ जना संक्रमितको पहिचान भएको छ । संक्रमितको संख्याको हिसाबले लकडाउनलाई निरन्तरता दिनुपर्ने देखिन्छ ।
परिक्षणको कुरा गर्ने हो भने नेपालको पहिलो केसको परीक्षण देशबाहिर पठाउनु परेको थियो । त्यसपश्चात आफ्नै देशमा पीसीआर प्रविधिबाट परिक्षण सुरु भइसकेको छ । अहिले देशभरका १६ स्थानबाट यो परिक्षण भइरहेको छ । परीक्षणको दायरा बढाउँदै लैजाने प्रवक्ता देवकोटाले बताए ।
‘तेस्रो भनेको संक्रमण फैलन डर र फैलने अवस्था हो । अहिले केही ठाउँमा मात्रै दोस्रो चरणमा गएको देखिन्छ । र यही दोस्रो चरणमै निहित रहन सक्यौँ भने देशमा संक्रमण फैलने अवस्था कम हुन्छ’, प्रवक्ता देवकोटाले भने, ‘यसको लागि हामीले क्वारेन्टाइनको पुर्ण पालना गर्नुपर्ने हुन्छ ।’
त्यस्तै अर्को पक्ष भनेको नागरिकको जिम्मेवारी पनि हो । लकडाउन भएको अवधिमा यसको पूर्ण पालना गुर्नपर्यो र खुकुलो बनाउँदै जाँदा हामीले आफ्नो व्यवहार कसरी गर्छौँ भन्ने कुराले पनि लकडाउनको अवधि निर्धारण गर्ने प्रवक्ता देवकोटाको भनाइ छ ।