प्रचण्ड, खनाल र गौतमको भेटः स्थायी कमिटीको बैठक बोलाउन दबाब दिने सहमति

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको केही समयपछि उनीहरुबीच भेटवार्ता भएको हो।

प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र खनालबीच दुई घन्टा छलफल भएको थियो। उनीहरूबीच पार्टीभित्रको पछिल्लो विवाद र आगामी रणनीतिबारे छलफल भएको बताइएको छ। पार्टी एकता बलियो बनाउँदै तत्काल स्थायी कमिटी बैठक बोलाउन दबाब दिने विषयमा प्रचण्ड र खनालबीच सहमति भएको स्रोतको भनाइ छ।

अध्यादेश प्रकरणपछि नेकपा शीर्ष तहमा बढेको विवाद र ध्रुवीकरणका बीच नेताहरुले संवादलाई तिव्रता दिएका छन्। यता ओली र नेपाल समूहका नेताहरु पनि राजनीतिक छलफलमा जुटेका छन्। स्रोतका अनुसार अध्यक्ष प्रचण्डले उपाध्यक्ष वामदेव गौतमसँग पनि भेटवार्ता गरेका छन्।

स्थायी कमिटी बैठक बोलाउन उपाध्यक्ष गौतम र वरिष्ठ नेता खनाल अध्यक्ष प्रचण्डसँग सहमत देखिएका छन्। यता आइतबार बसेका स्थायी कमिटी सदस्यहरुले पनि बैठक बोलाउन दबाब दिएका छन्। तर अध्यक्ष ओली भने बैठकको लागि अझै तयार भएका छैनन्। यसले नेकपाभित्र ध्रुवीकरण र समूहगत छलफल बढाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *