प्रचण्डलाई ओलीले बोलाए बालुवाटार

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा बोलाएका छन्। ओलीले प्रचण्डलाई दिउँसो सवा १ बजे बोलाएको नेकपा स्रोतले जनाएको छ।

अध्यादेश प्रकरणपछि नेकपाभित्रको विवाद सतहमा आएको छ। पार्टीभित्र उत्पन्न विवादपछि नेकपामा नयाँ समिकरण बनाउने प्रयास भइरहेको छ। अध्यादेश प्रकरणले प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन्।

ओलीले आफू अप्ठ्यारोमा परेपछि वरिष्ठ नेता माधव नेपालको साथ खोजिरहेका छन्। सोमबार ओली-नेपाल समूहका नेताहरुबीच नयाँ समिकरणको लागि छलफल भएको थियो। नेपाल समूहका नेताहरूले केपी पूर्वशर्त राखेपछि छलफल विना निष्कर्ष टुंगिएको थियो।

छलफलमा उनीहरुबीच मंगलबार पार्टी सचिवालय बैठक बोलाउन अध्यक्षलाई आग्रह गर्ने सहमति भएको थियो। तर ओलीले सचिवालय बैठकलाई उपेक्षा गर्दै पहिले प्रचण्डलाई बोलाएर छलफल गर्न खोजेका छन्। ओलीसँग असन्तुष्ट नेकपाका नेताहरूले ओलीको राजीनामा आउनु पर्ने भन्दै स्थायी कमिटी बैठक बोलाउन दबाब दिइरहेका छन्।

स्थायी कमिटी बैठक तत्काल बोलाउने पक्षमा ओली नरहेको पनि नेकपाका नेताहरू बताउँछन्। असन्तुष्ट नेताहरूलाई मनाउने प्रयत्नमा रहेको बेला प्रधानमन्त्री ओली फेरि प्रचण्डसँग वार्ता गर्न खोजेका छन्। यसअघि पनि ओलीले प्रचण्ड र नेता नेपालसँग छलफल गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *