लकडाउन र संकट ब्यवस्थापन कसरी गर्ने ?
कोरोना भाइरसको विश्वब्यापी महामारीका कारण मुलुक लकडाउन भएको पनि एक महिना पूरा भइसकेको छ । समयमै नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारणले आज देशमा कोरोना संक्रमणको अवस्था भयावह हुन सकेन । राज्यले सकेसम्म सजगता अपनाए पनि भारतीय सिमा हुँदै चेक जाँच नगरी नेपाल प्रवेश गरेका भारतीय बाट कोरोना संक्रमितको संख्या बढ्न गएको हो ।
यो एक महिनाको अवधिमा संक्रमितको संख्या ७७ जिल्ला मध्ये १२ जिल्लामा ५२ पुगी सकेको छ । एक महिना सम्मको लकडाउनको अवस्थालाई विश्लेषण गर्दा नेपालमा कोरोना भाइरस संक्रमण अरु भयावह हुने अवस्था नभएको बुझ्न सकिन्छ तरपनि उपयुक्त तयारी विना लकडाउन हटाई हाल्ने अवस्था छैन । लकडाउनको कुनै पनि विकल्प हालसम्म नदेखिएकोले लकडाउन खोली हाल्ने अवस्था पनि छैन । कोरोना भाइरस सजिलै एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने रोग भएकोले अत्यावश्यक सामग्रीको अब्यवस्थित उपलब्धता, सामाजिक दुरीको अपूर्ण परिपालना, जनचेतनाको अभाव जस्ता कारणले संक्रमितको संख्या बढ्न सक्ने खतरा अझैपनि छ ।
लकडाउन कहिलेसम्म ?
यसको तुरुन्तै प्रतिउत्तर दिन सक्ने अवस्था छैन । कोरोना संक्रमितहरुको पहिचान र विरामीहरु निको नहुन्जेलसम्म लकडाउन गर्नुपर्ने अवस्था रहेमा यो समय आउने छ महिना वा वर्ष दिनपनि लाग्न सक्छ । त्यसो भए के देशमा लकडाउन नै गरिरहने त ? प्रश्न आम जनताले गर्न थालिसकेका छन् । कोरोना बाट बच्ने एक मात्र उपाय सामाजिक दुरी हो जुन लकडाउनले मात्र संभव छ । तर, लकडाउन मुलुकको आर्थिक विकासका लागि ठूलो घातक मात्र हैन राज्यको चुनौतिको विषय पनि हो ।
अहिले एक महिना मात्र लकडाउन भइरहँदा जनजिवन अस्तब्यस्त भएको परिप्रेक्ष्यमा अबको ६ महिनासम्म लकडाउन गर्नु झनै चुनौतिपूर्ण कार्य हो । लकडाउनले खासगरी श्रमिक वर्ग जो दैनिक ज्यालादारीमा जिवनयापन गरीरहेका छन् । उनीहरुको जिवन बचाउनु सबैभन्दा जटिल कुरा हो । अहिले एक महिनाको लकडाउनले मात्रै जनतामाझ भोकमरीको अवस्था सृजना भइरहेको छ । ६ महिनासम्म यही अवस्था रहिरहे कोरोनाले भन्दा भोकमरीले जनता मर्ने परिस्थिति आउँदैछ ।
लामो समय सम्म लकडाउनको अवस्था रहेमा देशको अर्थतन्त्रमा ठूलो नकारात्मक असर पर्छ । उद्योग धन्दा, कलकारखाना, ब्यापार ब्यवसाय, श्रम, रोजगार धरासायी हुन्छ । खाद्य संकट हुने जस्ता भयावह अवस्था आउँदैन भनेर भन्न सकिन्न । त्यसैले समयमै लकडाउनको ब्यवस्थापन गर्न जरुरी छ । अर्थात लकडाउन खोल्न पुर्व उचित तयारीको लागि धेरै अभ्यास हुन जरुरी छ । पूर्व तयारी विना लकडाउन पूर्ण रुपमा वा आंशिक रुपमा खुला गरिएमा खुला सिमाना र निर्वाध रुपमा हुने देशब्यापी आवतजावतले कोरोना संक्रमणले विकराल रुप लिन सक्दैन भन्न सकिन्न । त्यसैले लकडाउन खोल्नु पूर्व ठूलो तयारीको आवश्यकता छ । यसको लागि योजनाबद्ध ढंगले काम गर्नुपर्ने देखिन्छ ।
लकडाउन खोल्न कस्तो तयारीहरु गर्नुपर्छ ?
देशलाई संकटकालको स्थितिबाट जोगाउने जिम्मेवारी स्थानीय, प्रदेश र केन्द्र तिनै तहको सरकारको हो । यसमा नागरिक समाजको भूमिका पहिलो हुन जान्छ । राज्यले नियम कानुन बनाउँछ तर, त्यसलाई आम नागरिकले पालना गर्न सकेनन् भने त्यसको अर्थ रहँदैन । कोरोना भाइरस महामारीबाट बच्न र रोकथामका लागि राज्यले अख्तियार गरेका नियम कानुन आम नागरिकले गम्भिर भएर गर्नू जरुरी छ ।
लकडाउनमा स्थानिय तहको सञ्चालन र ब्यवस्थापनमा प्रदेश सरकारको अहम् भुमिका रहेको हुँदा प्रदेश सरकारले नै संकट ब्यवस्थापनको लागि निश्चित मापदण्ड सहितको एकिकृत कार्य योजना वा निर्देशिका बनाई कडाइका साथ लागू गर्न जरुरी छ । स्थानिय स्तरमा जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने नगरपालिका तथा गाँउपालिका र वडा कार्यालय वा वडा सदस्य सहितको वडा अध्यक्षलाई प्रदेश सरकारले तयार गरेको निती नियमको पालना गराउने जिम्मेवारी दिन जरुरी छ । प्रदेश सरकार वा स्थानीय तहले तयार गरेको निश्चित नियम वा निर्देशिकामा तल उल्लेखित बुँदाहरुलाई समावेश गरि आफ्नो भौगोलिक अवस्था, जनसंख्या, ब्यापार ब्यवसाय, रोजगारीको अवस्था, संक्रमितहरुको संख्या तथा सिमाना र संक्रमण बढ्न सक्ने खतरालाई ध्यानमा राखि उपयुक्त किसिमको निर्देशिका बनाई लागू गर्न जरुरी छ ।
लकडाउन खोल्नपूर्व पालना गर्नुपर्ने नियमहरु
१. लकडाउन खोल्न पूर्व वडामा रहेका सबै विद्यालय, मठ, मन्दिर, मस्जिद, मदरसा, गुम्बा, पाटी पौवा, आश्रम, विश्रामालय, होटल तथा लज, धर्मशाला, पार्टि प्यालेस, सभागृह, कार्यक्रम स्थल, रंगशाला, बस स्टेण्ड वरपर रहेका कुनै पनि किसिमको बस्ने, सुत्ने तथा भेला हुने ठाँउ आदिको निरिक्षण गरि पूर्ण रुपमा केहि समयको लागि सिल गर्नु पर्छ ।
२. वडा सदस्य तथा वडामा रहेका बुद्धिजिवि, समाजसेवी तथा जानिफकारहरुको सहयोग लिई प्रत्येक घरमा रहेका घरपरिवारका सदस्य, भाडावाल तथा पाहुनाहरु लकडाउन शुरु हुदाको अवस्था देखि हालसम्म त्यस ठाँउ, घरमा भए नभएको सुनिश्चित गर्न जरुरी छ ।
३. कुनै पनि घरमा रहेका प्रत्येक सदस्यहरुको स्वास्थ्य स्थिति राम्रो भए नभएको, क्वारेन्टाइन वा आइसोलेशनमा बसे नबसेको, कोरोना भाइरसको पि.सि.आर, आर डि.टि.जाँच भए नभएको सम्बन्धमा जानकारी लिनु पर्ने हुन्छ तथा लगत राख्ने कार्य गर्नु पर्छ ।
४. प्रत्येक वडामा रहेका वडावासीहरुको स्वास्थ्य स्थिति हेरी माथि उल्लिखित ब्यक्तिको अवस्था अनुसार अलग–अलग रंगको फोटो तथा आधिकारीक छाप सहितको परिचयपत्र उपलब्ध गराउनु पर्छ । जुन अनिवार्य रुपमा घाँटीमा पहिरिई मात्र वडा भित्र, बजार वा अन्य कुनै ठाँउमा आउन जान अनुमति प्रदान गर्नु पर्छ ।
५. प्रथम चरणमा अत्यावश्यक सामग्री, खाद्य तथा औषधिजन्य पदार्थहरुको खरिद विक्रि गर्ने व्यक्तिलाई परीचयपत्र उपलब्ध गराईसकेपछि मात्र सर्वसाधारणलाई समयमै परिचय पत्र उपलब्ध गराउनु पर्छ ।
६. प्राथमिकताको आधारमा रोजगारी गर्ने, ज्यालादारीमा काम गर्ने, दैनिक आय आर्जन गरि जिविकोपार्जन गर्ने जस्ता मध्यम तथा निम्न स्तरका ब्यक्तिहरुलाई परिचयपत्र उपलब्ध गराउनु पर्छ ।
६. परिचयपत्र वितरणको क्रममै वडाध्यक्षको प्रत्यक्ष निगरानीमा क्रमिक रुपमा टोल तथा वडा कार्यालय खोल्ने जिम्मेवारी दिनु पर्छ ।
७. परिचयपत्र वितरणको क्रममा कोहि ब्यक्ति संकास्पद वा अपरिचित भेटिएमा तुरुन्त स्वास्थ्य संस्था वा क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाउनु पर्छ । स्वास्थ्य स्थितिको निश्चित जाँचबुझ पछि मात्र कुन किसिमको परिचयपत्र उपलब्ध गराउने हो सो वडाले निर्णय गरि उपलब्ध गराउनु पर्छ ।
८. सर्वसाधारण ब्यक्ति र सेवा प्रदायकको दुरी २ मीटर कायम हुने ब्यवस्था मिलाउनु पर्छ ।
९. कुनै पनि नगरपालिका गाँउपालिका वा वडा भित्र अत्यावश्यक सामाग्री लगायत अन्य सामाग्री भित्र्याउँदा निश्चित दुरी कायम गरि सामग्री बुझिलिने ब्यवस्था मिलाउनु पर्दछ ।
१०. स्वदेशको कुनै पनि एक स्थान बाट अर्को स्थानमा वा विदेश बाट मालसामान ढुवानी गर्ने चालक तथा सहचालकको ब्यक्तिगत विवरण सिमानाकामा लिई निश्चित आकार प्रकार तथा रंगको परीचयपत्र उपलब्घ गराई घाटी मा अनिवार्य झुन्डाउन लगाई मात्र आवत जावत गर्न दिनु पर्छ । निजहरु सँग सर्वसाधारण जनताको दुरी कायम राख्नु पर्छ ।
११. नगरपालिका, गाउँपालिका, वडा वा कुनै पनि स्थानमा ओहोर दोहोर गर्दा वा सवारी साधन चलाउँदा परिचयपत्र धारीलाई मात्र आउन जान ब्यवस्था मिलाउनु पर्छ, परिचयपत्र विहिन ब्यक्तिलाई तुरुन्त कार्वाहिको प्रकृयामा ल्याउनु पर्छ ।
१२. परिचयपत्र विना कुनै पनि ब्यक्ति देशको सिमा भित्र देखा परेमा तुरुन्त प्रहरी प्रशासनमा जानकारी गराई निजको जाँचबुझ तथा अनुसन्धान गरीनु पर्छ ।
१३. सार्वजनिक यातायातमा आवतजावत गर्ने ब्यक्ति देखि लिएर सवारी चालक सहचालकको एकै रंगको परिचयपत्र हुन जरुरी छ ।
१४. अन्य रंगको परिचयपत्र धारीहरुले सर्वसाधारण सरह परिचयपत्र नपाउन्जेल सवारीसाधनको प्रयोग गरि कहिँ कतै जान परेमा अनिवार्य रुपमा ब्यक्तिगत सवारी साधन प्रयोग गर्नुपर्ने हुन्छ ।
१५. संकटको अवस्था रहुन्जेल केहि दिन, महिना सम्म अत्यावश्यक काम बाहेक भेटघाट गर्ने, भ्रमणमा जाने कार्यमा रोक लगाउनु पर्छ ।
१६. परिचयपत्र ब्यवस्थापनको लागि सर्वसाधारण वा निरोगी ब्यक्तिलाई दिईने परिचयपत्र वडा कार्यालयले उपलब्ध गराउनु पर्छ भने संकास्पद ब्यक्ति, क्वारेन्टाइनमा वा आइसोलेशनमा बसेको ब्यक्ति पि.सि.आर.जाँच भएका वा आर.डि.टि.जाँच भएका ब्यक्ति, संक्रमण भएको ब्यक्ति वा संक्रमण पछि निको भएका ब्यक्तिहरुको परिचयपत्र स्थानिय तह अर्थात नगरपालिका, गाँउपालिकाले स्वास्थ्य संस्थाको प्रतिवेदनको आधरमा निश्चित रंगको परिचयपत्र दिई निश्चित स्थानमा, निश्चित ब्यक्तिको प्रत्यक्ष निगरानीमा रहने गरी ब्यवस्था मिलाउनु पर्छ ।
१७. हाल केहि महिना सम्म विहेवारी, भोज भतेर, पिकनिक, कन्सर्ट, खेल, उत्सव जस्ता धेरै मानिसहरुको भिडभाड हुने कार्यक्रमहरुमा प्रहरी, प्रशासन, स्थानिय तहले पूर्णरुपमा रोक लगाउनु पर्छ भने, सार्वजनिक स्थलहरु जस्तै सिनेमा हल, क्लब, रिसोर्ट, पार्क, विद्यालयहरुलाई केहि समयको लागि बन्द गर्नु पर्छ ।
१८. देशको मेरुदण्डको रुपमा रहेको उद्योगधन्दा, कलकारखाना, ब्यापार, ब्यवसाय, बैंक तथा वित्तिय संस्थाहरु देखि लिएर सम्पूर्ण प्रशासनिक क्षेत्रहरुले निश्चित नियमहरुको पालना गरि सामाजिक दुरी कायम राखि आफ्नो संस्थाले कर्मचारीहरुको सुरक्षाका लागि बनाएको निश्चित कार्यविधि बमोजिम कर्मचारीहरुलाई काममा लगाउनु पर्छ र संस्था सुचारु गर्नु पर्छ । यदि निश्चित सुरक्षा तथा सावधानी नपनाई संस्था सञ्चालन गरेमा कुनै एक जनाको कारणले पुरै संस्था संक्रमणको शिकार हुन सक्छ ।
लेखकः धरान उपमहानगरपालिकाका बरिष्ठ आन्तरिक लेखा परीक्षण अधिकृत हुन् ।