चाेरीकाे बिवादपछि कोरोना अस्पतालको फेसबुक अकाउन्ट बन्द
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![चाेरीकाे बिवादपछि कोरोना अस्पतालको फेसबुक अकाउन्ट बन्द](https://www.makalukhabar.com/wp-content/uploads/2020/04/bharatpur-corona-aspatal.jpg)
- ध्रुवराज खनाल
चितवन । एकपछि अर्को विवादको सामना गर्नुपरेपछि भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले फेसबूक अकाउन्ट नै बन्द गरेको छ ।
अस्पतालका सामग्री चोरीको गम्भीर आरोप लागेका कर्मचारीको पक्षमा निकालिएका विभिन्न व्यक्ति तथा संगठनका विज्ञप्ति अस्पतालको आधिकारिक फेसबूक अकाउन्टबाट सार्वजनिक भएपछि सर्वत्र विरोध भएपछि अकाउन्ट बन्द गरिएको हो ।
अस्पतालमा विभिन्न भूमिकामा काम गर्दा फणिन्द्रप्रसाद खनाल, सञ्जय बराल र सूर्य तिवारीले स्टोरबाट सामान चोरेको आरोप लागेपछि उनीहरको पक्षमा विज्ञप्तिबाजी चलिरहेको छ ।
पछिल्लोपटक दुई संगठनले पत्रकारलाई धम्क्याउँदै निकालेको विज्ञप्ति अस्पतालको फेसबूक एकाउण्टमा पोष्ट भएको थियो । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ जिल्ला समिति चितवन र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन जिल्ला समिति चितवनले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा कर्मचारीले चोरी गरेको आरोप झुट भएको जिकिर गर्दै समाचार लेख्ने पत्रकारलाई कारबाही गर्ने धम्की दिइएको थियो ।
‘झुटा समाचार प्रकाशन प्रसारण गर्नेलाई कारबाहीको लागि सम्बन्धित निकायसमक्ष माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा यस संगठन आफैंले त्यस्ता व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्ने व्यहोरासमेत जानकारी गराइन्छ ।’
पत्रकारको जिउधनमाथि हमला गर्ने आशयको विज्ञप्ति अस्पतालकै फेसबूकमा पोष्ट भएपछि विभिन्न पत्रकारहरुले विरोध जनाएका थिए ।
भरतपुर अस्पतालका अध्यक्ष तथा कोरोना नियन्त्रण कार्यदलका सदस्यसचिव डा. भोजराज अधिकारीले केही व्यक्तिको असावधानीका कारण अस्पतालको फेसबूकमा त्यस्तो पोष्ट भएको भन्दै अस्पतालको आधिकारिक धारणाका रुपमा नबुझिदिन सबैलाई अनुरोध गरे । ‘भूल र असावधानीका कारण त्यसमा पोष्ट गरेको रहेछ’, उनले भने, ‘मैले थाहा पाउनेबित्तिकै पोष्ट हटाउन लगाएँ र अहिले फेसबूक अकाउन्ट पनि बन्द गरिएको छ ।’
कोरोना अस्पताल अहिले भरतपुर अस्पतालकै एक अंग हो । सञ्चारमाध्यमले सार्वजनिक गरेको सीसीटीभी फूटेजमा आरोपित तीन कर्मचारी मिलेर स्टोरबाट सामान पोको पारेर बाहिर निकालेको देखिन्छ । उनीहरुको दाबीअनुसार ती सामान अर्को स्टोरमा सार्नका लागि पोको पारिएको हो ।
सदस्यसचिव डा. अधिकारीले हिजै जारी गरेको विज्ञप्तिमा पनि यही दाबी गरेका छन् । उनले स्टोरबाट सामान सार्नका लागि पोको पारिएको नै भनेका छन् । यसको स्वतन्त्र छानबिन गर्नका लागि बनाइएको छानबिन समितिको संयोजकले नै काम गर्न नसक्ने भनेपछि भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीले जिल्ला प्रशासन कार्यालय गुहारेका छन् ।
उनले जिल्ला प्रशासनलाई चिठी लेखेर स्टोरको सामग्री चोरीको आरोपसहित एक अनलाईन मिडियाले समाचार लेखेको विषयमा छानबिन गरिदिन भनेका छन् । अस्पतालका अध्यक्ष डा. अधिकारीले जिल्ला प्रशासन कार्यालयले छानबिन अघि बढाइसकेको बताए । छानबिनपछि सबै सत्य आउने भन्दै केही समय धैर्य गरिदिन उनले सबैलाई अनुरोध गरेका छन् ।
अस्पतालमा लाखौंको आर्थिक अनियमितता भएकोसमेत सूचना सार्वजनिक भएपछि हिजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले हिजो छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिइसकेको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)