नेकपामा बहुमतको कसरतः संसदीय दलमा बहुमत पुर्‍याउने ओली समूहको प्रयास

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली संसदीय दलमा बहुमत पुर्‍याउने प्रयासमा जुटेका छन्। पार्टीभित्र बहुमतको रस्साकस्सी चलिरहेका बेला प्रधानमन्त्री ओली यस्तो प्रयासमा जुटेका हुन्।

नेकपा एक सांसदका अनुसार ओलीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई हस्ताक्षर गराउन सुरु गरेका छन्। बुधबार दिउँसोसम्ममा दुवै सदनका गरेर ६४ जना सांसदले हस्ताक्षर गरिसकेका छन्। बालुवाटारमा हस्ताक्षर अभियान जारी रहेको र सांसदहरु हस्ताक्षरको लागि जाने क्रमम चलिरहेको ती नेताले बताए।

नेकपामा एक सय ७४ सांसद छन्। संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ। आफूसँग ७८ सांसद रहेको ओली समूहको दाबी छ। बाँकी थप १० सांसद जोड्न सो समूह सक्रिय छ। यसअघि प्रधानमन्त्रीले सोमबार र मंगलबार बालुवाटारमा बोलाएर सांसदहरूसँग कुराकानी गरेका थिए।

आज पनि आफूनिकटका सांसदहरूसँग छलफल गर्ने ओलीको तयारी रहेको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ। बुधबार साँझ ५ बजे बस्ने सचिवालय बैठकमा आफ्नो पक्षमा बहुमत देखाउने प्रयासमा प्रधानमन्त्री लागेको स्रोतको भनाइ छ।

पार्टीभित्र अध्यक्ष प्रचण्डसहित दुई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले साथ नदिएपछि ओली अल्पमतमा परेका छन्। केही दिनयता प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपालनिकटका असन्तुष्ट नेता र सांसदसँग समेत निरन्तर छलफल गरिरहेका छन्। दुबै समूहका असन्तुष्ट सांसदलाई आफ्ना पक्षमा ल्याएर बहुमत पुर्‍याउने योजना प्रधानमन्त्री ओली रहेको एक सांसदले बताए।

अध्यादे प्रकरणपछि सतहमा आएको नेकपाभित्रको विवादबारे छलफल गर्न बुधबार साँझ पाँच बजेका लागि बालुवाटारमा सचिवालय बैठक बोलाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *