नेपालमा कोरोनाको औषधि बनाइएको जिकिर

हेटौँडा । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् ।  प्राध्यापक डा.ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडीबुटीको सम्मिश्रणबाट त्यस्तो औषधिको निर्माण गरेको बताएका हुन् ।

भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा.दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जिमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधि तयार गरेको जानकारी गराए ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा.दासले सरोकारवालासँग सहयोगको आह्वानसमेत गरेका छन् । उनले कोरोना भाइरसको औषधि निर्माण गर्न कडा मेहेनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दाबी पनि गरे ।

यसअघि उनले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाएका थिए । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरूले आज उनले अनुसन्धान गरेको प्रयोगशालामा पुगेर जानकारीसमेत लिएका छन् ।

चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडालगायतका दर्जनौँ मुलुकमा कोरोनाको उपचार पद्धति र औषधिको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधिको थप परीक्षण हुन बाँकी नै छ । नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ ।

डा.दासको दाबीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा.दास वाग्मती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्षसमेत हुन् । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *