रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको मृत्यु
रोल्पा । रोल्पामा बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ ।
रोल्पाको त्रिवेणी गाउँपालिका– ७ गैरीगाउँमा बिहीबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भइ उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले बताए ।
मृत्यु हुनेमा त्रिवेणी गापा ७ का १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीया बिमला डाँगी, ५ वर्षीय विजय खत्री र सोही गापा ४ का १३ वर्षीय गौरव नेपाली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङका अनुसार बेलुका ६ बजेतिर स्थानीय माईतेकापिना जंगलमा गाई बाख्रा चराउन गएका बालबालिकाले बेवारिसे अवस्थामा रहेको टुईञ्च मोटर बम चलाएपछि विस्फोट भएको जानकारी दिएका छन् । उनले भने, ‘बेवारिसे अवस्थामा त्यहाँ दुईवटा टुईञ्च मोटर बम जंगलमा रहेछन्, त्यसमध्ये एउटालाई बच्चाहरुले खेलाउना ठानेर खेलाउँदै गर्दा अचानक विष्फोट भई उनीहरुको घटानास्थलमै मृत्यु हुन पुग्यो ।
मृतक चारै जनाको शव प्राथमिक स्वास्थ्य चौकी होलेरीमा ल्याउन आग्रह गरिएको डिएसपी गुरुङले जानकारी दिए। इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली गएको उनले बताए ।