कोरोना संक्रमणबाट एक प्रहरी अधिकारीको मृत्यु, २६ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ
काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणका कारण एक प्रहरी अधिकारीको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणभइ ओपोलो अस्पतालमा भर्ना भएका पञ्जाबको लुधियानाका एसीपी अनिल कोहलीको शनिबार मृत्यु भएको हो ।
केहीदिन अघि एसीपी अनिल कोहली कोरोना भाइरसबाट संक्रमणको पुष्टि भएको भन्दै पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका थिए ।
उनलाई लुधियानाकै एसपीएस अस्पतालमा प्लाज्मा थेरापी दिने तयारी गरिएको थियो । तर, यो प्रक्रिया सुरु हुनुपूर्व नै उनको मृत्यु भएको हो ।
भारती सञ्चारमाध्यमका अनुसार ५२ वर्षीय एसीपी लाई शुक्रबार पञ्जाब सरकारले प्लाज्मा थेरापी दिइने बताएको थियो । उनी भारतमा प्लाज्मा थेरापी लिने पहिलो बिरामी हुने भएका थिए । उनी कुनै पनि बाह्य मुलुक नगएको बताइएको छ ।
त्यस्तै, भारतीय सञ्चारमाध्यमका अनुसार, भारतीय जलसेनाका २६ जना सुरक्षाकर्मीमा पनि कोरोना पोजेटिभको पुष्टि भएको छ । पोजेटिभ देखिएका नौ सैनिक मुम्बईस्थित पश्चिम कमाण्डका हुन् ।
उनीहरुको अहिले उपचार भइरहेको छ ।