प्रदेश ४ र प्रदेश ५ जोड्ने सादी खोलाको नाका सिल
बैशाख २, बागलुङ । आजदेखि स्थानीयले प्रदेश ४ र प्रदेश ५ को सीमानामा सिल गरेका छन् । कोरोना भाइरस कोभिड १९ को जोखिमबाट बच्न नेपाल सरकाले गरेको लकडाउनको पूर्ण पालना गर्ने भन्दै स्थानीयले एक प्रदेश बाट अर्को प्रवदेशमा प्रवेश गर्न रोक लगाउन सीमामा सिल गर्न थालेका हुन् ।
कोरोना संक्रमणको जटिलता र जोखिम बढेसँगै प्रदेश नं ४ र प्रदेश ५ को सिमाना बागलुङ र गुल्मीको सिमाना गलकोट नगरपालिका वडा नं ८ काँडेबास र मुसिकोट नगरपालिका वडा नं ९ अर्लाङकोट सादी खोलामा आजबाट बन्द गरिएको हो ।
स्थानीयले सीमामा बाँसको तगालोसहित ताला लगाएर सिल गरेका छन् । एक प्रदेश बाट अर्को प्रदेश, एक जिल्ला देखि अर्को जिल्ला र पालिकामा कोरोना संक्रमण फैलिन नदिन नाकामा तगालो लगाईएको गलकोट नगरपालिका वडा नं ८ का वडा अध्यक्ष राम प्रसाद कँडेलले जानकारी दिए । गलकोट नगरपालिका र मुसिकोट नगरपालिकाको आपसी समझदारीमा नाका सिल गरिएको अध्यक्ष कँडेलले बताए ।
लक डाउन अवधिभर अत्यावश्यकीय कामकाजको लागि गाडी र मान्छे आवतजावत गर्न सकिने मुसिकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नरेश खरेलले जानकारी दिए । उक्त रुट भएर चल्ने सवारी साधन र हिँडडुल गर्ने मानिसले स्थानीय तहमा जानकारी गराउनु पर्ने बताईएको छ । विरामी, खाद्यान्न लगायतका कामकाजको लागि नाका खुलाईने स्थानीय सुरेन्द्र छन्त्यालले जानकारी दिए ।
विश्व अहिले कोरोना भाईरस कोभिड १९ को संक्रमणले आक्रान्त छ । ठूला विकसित राष्ट्र देखि साना देशहरुमा समेत दिनहुँ कोरोना भाईरसको संक्रमण बढदो क्रममा छ र स्थिती दिनहुँ भयावह बन्दै गईरहेको छ ।
नेपाल पनि कोभिड १९ बाट अछुतो रहन सकेन । २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको कोभिड १९ कोरोना भाईरसको संक्रमणबाट अहिले नेपालमा १६ जनामा कोरोना पुष्टी भएको छ ।
नाका सिल गरिए सँगै आम नागरिकलाई अत्यावश्यक काम परे दुवै तर्फका वडा कार्यालयलाई आधिकारिक जानकारी गराउनु पर्ने वडा कार्यालयले जनाएका छन । लक डाउनको पुर्ण पालना गरि कोरोना संक्रमणलाई फैलिन नदिन गलकोट नगरपालिका र मुसिकोट नगरपालिकाले आम नागरिकलाई अपिल समेत गरेका छन ।