एक छाक खाएर सुत्छन् ‘ऋषिदेव परिवार’ !

बैशाख ५, विराटनगर । कटहरी २ ऋषिदेव टोल जहाँ १८ घरधुरी छन् । विराटनगर महानगरपालिकाबाट लगभग तीन किलोमिटर दुरी पार गरेपछि पुगिन्छ त्यहाँ ।  

कोरोना भाइरस संक्रमणको उच्च जोखिमसँगै लकडाउनले निकै कष्ट बनेको छ, त्यहाँका परिवारको दैनिकी । टोलबासीको पेशा भनेकै दैनिक ज्याला मजदुरी । अर्कोको जमिनमा पसिना बगाउँछन्, त्यसैबाट आम्दानी गर्छन् । 

बर्खायामको झरी र हिँउदको चिसो छल्नका लागि खरको छानो, फुसको घर बनाएर बसेका छन् । उनीहरु बसेको जमिन पनि आफ्नो नभएको त्यहाँकी एक वासिन्दा रत्नि ऋषिदेवले बताइन् । नहर छेवैको जमिनमा उनीहरु बसोबास गर्दै आइरहेका छन् । 

श्रीमानसँगै आफूपनि दैनिक ज्याला मजदुरी गर्ने गरेको सुनाउँदै उनले भनिन्– ‘लकडाउनपछि न श्रीमानको कमाई छ न आफ्नो, हामी एकछाक मात्रै खाना खाएर सुत्ने गरेका छौँ ।’ 

सरकारले दिएको १० किलो चामल, १ पोका तेल, ३ किलो आलु सबै सकियो उनको । पर खेततिर गँहुको सिला खोजेर चामल किनिन् केही दिनअघि । उनको २ छोरा २ छोरी उनी र श्रीमान गरेर ६ जनाको परिवार छ । 

‘काम नभएर घरमा बस्दा भोक लाग्छ । केटाकेटीले खान माग्छन् । सरकारको १० किलो चामल ६ जनाको परिवारमा कति दिन खानु ?’, बिहाबार कटहरीमा भेटिएकी रत्निले दुखेसो पोखिन् ।  

कोरोना संक्रमणको त्राससँगै यो समय शहरका आम जनता सेल्फ क्वारेन्टाइनमा छन् अर्थात् आफू सुरक्षित रहनका लागि घरमै दैनिकी बिताइरहेका छन् । ऋषिदेव बस्तीमा भने कोरोनाको भन्दा भोकको भय छ । उनीहरुलाई साँझ बिहान छाक टार्नको त्रासले सताइरहेको छ । 

१९ वर्षिया निसा ऋषिदेव साँझको तरकारीका लागि हिलोमा माछा खोजिरहेकी थिइन् । हिलोमा पस्नु उनको रहर होइन, कहर थियो । साँझको छाक भुजा र माछा खाएर सुत्ने योजना रहेको उनले सुनाइन् । 

उनको घरमा बुवा–आमासहित १० जनाको परिवार छ । उनी भन्छिन्– ‘सरकारले राहत त दियो तर अस्ति नै सकियो, हामी धेरै परिवार छौँ । त्यतिले पुग्दैन ।’ 

भनिचि ऋषिदेवको पनि कथा, व्यथा उस्तै छ । उनीहरु दुवै श्रीमान्–श्रीमती दैनिक मजदुरी गर्छन् । २४ दिनदेखि घरमा बस्दा चुलो बाल्न धौधौ परेको छ ।  

आफूसहित ४ छोरी, ३ जना छोरा र श्रीमान गरी सात जनाको परिवार छ उनको । ‘बिहान आधा पेट खाना खान्छौँ, साँझ भुजा र नहरबाट ल्याएको माछा खाने विचार गरेका छौँ’, उनले भनिन् ।  

बबिता ऋषिदेवको चुलामा उनकी छ वर्षकी छोरी भात पकाउँदै थिइन्, दाउराको अभावले उखुको सुकेको ढोँड बालेर । उनको पनि आज तरकारी नहरबाट ल्याएको माछा नै छ । उनको परिवारमा २ छोरीसहित ५ जना सदस्य छन् ।  

श्रीमान–श्रीमती दुवै दैनिक ज्याला मजदुरी गर्छन् । बिहान कमायो, साँझ खायो । यसैगरी चल्छ उनीहरुको गुजारा । यस्तै छ दैनिकी । लकडाउनले गर्दा २४ दिनदेखि काम नगरी घर बस्दा परिवार धान्न कष्ट परेको छ ।  

उनी भन्छिन्– ‘बजारमा काम हुन्छ कि भनेर गयो प्रहरीले लखेट्छन्, घरमा बस्दा केटकेटीको भोको पेटले रुवाउँछ । सरकारले दिएको राहत पनि नेताले खान्छन्, हामी त भोकै पर्छौँ ।’ 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *