लकडाउनका कारण कसैलाई भोकै रहन दिनौंः मुख्यमन्त्री राउत

वैशाख १, धनुषा। प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले नयाँ वर्ष, २०७७ तथा जुडशीतल पर्वको उपलक्ष्यमा प्रदेशवासीको दीर्घायु, सुस्वास्थ्य एवं उत्तरोतर प्रगतिको कामना गरेका छन्। नयाँ वर्षको अवसरमा आज भिडियो सन्देशमार्फत मुख्यमन्त्री राउतले विश्वव्यापी कोरोना भाइरसका कारण नयाँ वर्ष तथा जुडशीतल पर्व विगतका वर्ष झैं खुलेर मनाउने अवस्था नरहेकाले आ–आफ्ना घरमै बसेर लकडाउनलाई पूर्ण पालना गरी पर्व मनाउन आह्वान गरेका हुन्। 

यस महामारीबाट बच्नका लागि सशक्त रुपमा लकडाउनका पालना गरी आफूलाई सुरक्षित राखौँ र सामाजिक दूरी कायम गरेर महामारीलाई नियन्त्रण गर्नेतर्फ सचेत हुन उनले आग्रह गरे। मुख्यमन्त्री राउतले सबैको सहयोग, सकारात्मक सोच र जिम्मेवार नागरिकका रुपमा मिलेर अगाडि बढ्यो भने सीमित साधनस्रोतमा पनि निश्चित रुपमा कोरोना भाइरसमाथि नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे। 

उनले यस समयमा लकडाउनलाई पालना गराउन अहोरात्र खटिरहेका सुरक्षाकर्मी, उपचारमा संलग्न स्वास्थ्यकर्मी र कोरोनाको सन्दर्भमा सञ्चारमाध्यमबाट सचेतना फैलाउनु हुने पत्रकार, प्रदेश सरकारका मन्त्री, मन्त्रालयका सचिव, कर्मचारीलगायत महत्वपूर्ण भूमिका खेलिराख्नु भएका सबैप्रति धन्यवाद व्यक्त गरे। 

मुख्यमन्त्री लालबाबु राउत सर्वोच्च ...

कोरोना भाइरसको परीक्षण प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको र केही दिनभित्रै नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा पनि प्रयोगशाला स्थापना हुने जानकारी दिदैं मुख्यमन्त्री राउतले राजविराजमा कोरोना जाँच्ने मेशिन पिसिआर जडान हुने र महोत्तरीको जलेश्वर तथा वाराको कलैया अस्पतालको स्तरोन्नतिको कार्य अगाडि बढाइएको बताए। 

वीरगञ्जमा तीनजना कोरोना भाइरस सङ्क्रमित फेलापरेपछि प्रदेश सरकार गम्भीर भएको उल्लेख गर्दै उनले यस विषयमा गृहमन्त्री, स्वास्थ्यमन्त्रीका साथै स्थानीय प्रशासन र महानगरपालिका वीरगञ्जका प्रमुखलगायतसँग आफू नियमित रुपमा सम्पर्कमा रहेको जानकारी गराए। मुख्यमन्त्री राउतले कोरोना भाइरसको अवस्थालाई आँकलन गरी प्रदेश सरकारले शुरुमै स्वास्थ्य क्षेत्रमा कार्य गर्नका लागि अस्पताललाई आर्थिक सहयोग गरेको उल्लेख गर्दै लकडाउनको कारण ‘कोही पनि भोकै नरहोस्, कोही भोकको कारण नमरोस्’ तर्फ प्रदेश सरकार सचेत रहेको जानकारी गराए। 

उनले कृषि मजदूर र विपन्न परिवारलाई राहत उपलब्ध गराउनका लागि प्रदेश सरकारले गाउँपालिकालाई १० लाख, नगरपालिकालाई १५ लाख, उपमहानगरपालिकालाई २० लाख र महागरपालिकालाई २५ लाख पठाएको रकमबाट वडामा रकमका साथै खाद्य सामग्री वितरण भइरहेको जानकारी गराए। उनले लकडाउनका कारण मारमा परेका तरकारी, दूधलगायत कृषिजन्य उत्पादक किसानका लागि पनि राहतको व्यवस्था सरकारले गरेको बताए।  -रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *