खेतबारीमै कुहिन थाल्यो किसानको तरकारी, पास नहुँदा समस्या

वैशाख १, बाँके । बन्दाबन्दीका कारण बाँकेमा उत्पादित तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदां किसान मर्कामा परेका छन् । 

बजारसम्म तरकारी बिक्रीका लागि पुर्‍याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न किसान बाध्य छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारीले बजार नपाउँदा लगानी पनि नउठ्ने कोहलपुरका किसान किसान लक्ष्य खड्काले बताए । 

बाँकेमा यस याममा एक हजार ७५० हेक्टरमा तरकारी खेती तथा सरदर २१ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । अहिले लौका, करेला, भिन्डी (रामतोरियाँ), बोडी, टमाटर (गोलभेंडा), काँक्रा, सागलगायत तरकारी उत्पादन भएको छ । सबैभन्दा बढी काँक्रा खेतीमा संलग्न जिल्लाका किसानलाई मर्का परेको छ । 

null

बन्दाबन्दीका कारण बिक्रीका लागि थोक बजारसम्म तरकारी पुर्‍याउन नसकिएकाले किसान मर्कामा परेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको भनाइ छ । नेपालगञ्ज आसपासका तरकारी थोक बजारमा बिक्रीका लागि ल्याउन सकिए पनि टाढा कोहलपुर, बैजानाथ, नरैनापुर र राप्तीसोनारीको बजार पठाउन किसानलाई समस्या भएको छ । 

नेपालगञ्जमा तरकारीको थोक बजार खुला भए पनि कोहलपुरको थोक तरकारी बजार बन्द भएकाले पनि समस्या भएको छ । 

बन्दाबन्दीमा किसानसँग आवतजावतको ‘पास’ नहुँदा बजारमा तरकारी बिक्री गर्न ल्याउन नसकिएको र यस सम्बन्धमा प्रशासनसँंग पहल भइरहेको प्रमुख ढकालको भनाइ छ । बाँकेमा उत्पादित तरकारी किसानलाई बिक्री गर्न मात्रै समस्या छैन, तिनले विषादी तथा मल समेत किन्न पाएका छैनन् । खेतीबारीमा काम गर्नका लागि आउजाउमा पनि समस्या भइरहेको उनीहरुको गुनासो छ । 

झिमरुक– प्युठान नगरपालिका वडा नं ८ खप्रेङखोलाकी विपना भण्डारीले चार वर्षदेखि तरकारी खेती गर्दै आएकी छन् । उनले चार रोपनी जग्गा भाडामा लिएर खेती गर्दै आएकी छन् । उनको तरकारी बारीमा अहिले बन्दागोभी, काँक्रा, सिमी, लौका, घिरौँला, फर्सीलगायत तरकारी उत्पादन भएका छन् । उत्पादित सब्जी बेचिन ठीक परेका छन् तर उनले लकडाउनका कारण बेच्न पाएकी छैनन् । 

आफूले उब्जाएको तरकारी दैनिक प्युठान ८ बाग्दुला बजारमा रहेको तरकारी संकलन केन्द्रमा पुर्‍याएर बिक्री गर्ने गरेको भए पनि लकडाउनका कारण संकलन केन्द्रसँंगै बजार सबै बन्द भएपछि बेच्न नपाइएको उनी बताउँछिन् । 

मुख्य पेशाकै रुपमा तरकारी खेती गर्दै आएकी भण्डारीलाई यस समयमा तरकारी बेच्न नपाएकामा पिरलो छ । उनले भनिन्, ‘जग्गा भाडा लिएर तरकारी खेती गरेको हुँ तर उब्जाउ भएको तरकारीले बजार नपाएपछि खेतमै सड्न थालेको छ ।’ 

वार्षिक रु ३० हजार जग्गाको भाडा तिरेर तरकारी खेती गरेकी उनले बीउ, विषादी र मलको लागतसमेत तरकारी बेचेर कमाउन नसकेको बताइन् । बिक्रीका लागि तयार भएको करीब १० क्विन्टल तरकारी खेतबारीमै कुहिन थालेको स्थानीयवासी किसान माधवा गिरी बताउँछन् । 

‘आर्थिक आम्दानीको स्रोत भनेकै यही तरकारी खेती हो’, उनले भने, ‘बजार नपाएपछि दैनिकी चलाउन समस्या भएको छ ।’ आफ्नो मेहनतभन्दा पनि ऋणधन गरेर बीउ खरीद गर्दाको लागत र जग्गाको भाडा तिर्ने रकमसम्म भए पनि उठाउन पाए केही राहत हुने उनले बताए । 

तरकारी व्यवसायी रेखा सार्कीले पनि जग्गा भाडा लिएर तरकारी खेती गरेको बताउँदै लकडाउनका कारण उब्जाउ भएको सबै तरकारी सड्न थालेकामा चिन्ता व्यक्त गरे । प्युठान ८ खप्रङ्खोला, गेजवाङ र सूर्यनगरका करीब ६० घरपरिवारले व्यावसायिक तरकारी खेतीबाट आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । 

यसरी लम्बिँदै गएको लकडाउनका कारण तरकारी बिक्री गर्न नपाएपछि छाक टार्न समेत समस्या हुन थालेको उनीहरुको गुनासो छ । किसानले उब्जाएको तरकारी स्थानीय सरकारले बजारसम्म लैजाने व्यवस्था मिलाउनुपर्ने उनीहरुको माग छ । 

प्युठान ८ का वडाध्यक्ष लिलापसिंह केसीले किसानले उत्पादन गरेको तरकारी बजार व्यवस्थापनका लागि पहल गरिएको बताउँछन् । ‘किसानलाई निराश हुन दिन्नौं, कुनै माध्यमबाट उहाँहरुको लगानीसम्म भए पनि उपलब्ध गराउँछौं’, उनले आश्वासन दिए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *